माडी गाउँपालिकाका ५ गाउँमा घर घरमै धारा
रोल्पा- रोल्पाको माडी गाउँपालिका–२ मा रहेका पाँच गाउँका घर घरमा धारा पुगेको छ ।
नेपाल रेडक्रस सोसाइटी एकिकृत सामुदायीक उत्थानशील परियोजनाले माडी गाउँपालिकाको ढाप्चाटोल, गलमपाटी, सिरुवाली, पोखराडाँडा र सिमपानीका ६० घरधुरीमा धारा निर्माण गरिदिएको हो ।
६० घरका २ सय ९१ जना लाभान्वित भएको यो आयोजनाका लागि नेपाल रेडक्रस सोसाइटी अन्तर्गत एकीकृत सामुदायिक उत्थानशील परियोजनाले २१ लाख ६५ हजार २ सय ७४ रुपैयाँ र समुदायको ५ लाख ८३ हजार श्रमदान गरी २७ लाख ४८ हजार ९ सय ७४ रुपैयाँ लगानी गरेका छन् ।
परियोजनालाई अझ प्रभावकारी बनाउने लक्ष्य भए पनि कोरोना महामारीका कारण एकवर्ष खेर गएको र भनेजस्तो काम पनि गर्न नसकिएको नेपाल रेडक्रस सोसाइटी रोल्पाका सभापति डी.बी. घर्तीमगरले बताउनुभयो ।
फिनिस रेडक्रसको आर्थिक सहयोग रहेको परियोजनाले जलवायु अनुकुलन, स्वास्थ्य, लैंगिक सामाजिक समावेशीकरण, खानेपानी सरसफाई स्वच्छता र रेडक्रसको संस्थागत विकासका क्षेत्रमा रही माडी गाउँपालिकामा काम गरिरहेको परियोजनाका अधिकृत कमला राईले बताउनुभयो ।
रेडक्रसले खानेपानी निर्माण गरेर स्थानीय सरकारलाई ठूलो सहयोग पुगेको माडी गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनले बताउनुभयो । यसअघि खानेपानीका लागि धेरै समय खर्चिएर टाढाबाट पानी लिनुपर्ने बाध्यता हटेको र त्यसबाट बचत समयलाई अन्य कृषि कर्ममा लगाउन सकिने बताउनुभयो ।
धेरै घर मिलेर एउटै धारोमा पानी भर्नुपर्ने समस्याबाट अहिले स्थानीय मुक्त भएका छन् । लसुन खेतीको पकेट क्षेत्रको रुपमा समेत मानिएको यहाँका बासिन्दालाई पानीको अभावले निकै पिरोलेको थियो । अहिले रेडक्रसले घरघरमा पानी पुर्याइदिएपछि आफूहरुलाई निकै खुसी लागेको उपभोक्ता टेकबहादुर बाँठाले बताउनुभयो ।
हरेक धारामा मिटर जडान गरिएकाले खपट पानी भएअनुसारको शुल्क निर्धारण गरी उक्त शुल्कलाई मर्मतसम्भारमा खर्चिने उपभोक्ताको योजना छ ।
मर्मतसम्भारका लागि भन्दै उपभोक्ताको बैंक खातामा परियोजनाले १ लाख २० हजार रकम समेत जम्मा गरिदिएको छ । परियोजनाको सहयोगमा निर्माण भएका चिसापानी र सानो ठूलो खानेपानी आयोजना हालै मात्र समुदायलाई हस्तान्तरण गरिएको छ ।
जनप्रतिनिधि, रेडक्रसकर्मी र पत्रकारहरुको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी खानेपानी आयोजनाको उद्घाटन तथा हस्तान्तरण गरिएको थियो ।।
प्रतिक्रिया राख्नुहोस्