सवैदलीय बैठकमा राष्ट्रपतिले भन्नुभयो, ‘उच्च राजनीतिक संस्कार कायम राख्नुहोला’
पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल सहभागी हुनु भएन

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा शीतल निवासमा सर्वदलीय बैठक बसेको छ ।
राजनीतिक संकट समाधानका लागि राष्ट्रपतिले बैठक आह्वान गर्नुभएको हो । भेटमा राष्ट्रपतिले मुलुकको राजनीतिक सौन्दर्य आपसी, संवाद, सहकार्य र एकता रहिआएको बताउँदै संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढिकरणका लागि राजनीतिक दलहरुबीच सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । ‘हाम्रो समाज शालीन, सभ्य, सहिष्णु रहिआएको छ । यहाँको नेतृत्वले सधैं उच्च राजनीतिक संस्कार कायम गर्दै आएको छ । यो असल संस्कार निरन्तरता कायम रहनुपर्दछ,’ राष्ट्रपतिको भनाइ थियो ।
बैठकमा पूर्वप्रधानमन्त्रीहरु र दलका शीर्ष नेतालाई बोलाइएको थियो । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी सहभागी हुनुभएको छ । तर, पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द पनि अनुपस्थित रहनुभयो ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित महासचिव ईश्वर पोखरेल नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल र रामबहादुर थापा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइाराला, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र देव गुरुङ, जनता समाजवादी पार्टीबाट शीर्ष नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो सहभागी हुनुभयो ।

राष्ट्रपतिले आफ्नो आसन्न बंगलादेश भ्रमण लगायतका समसामयिक विषयमा विषयमा छलफल गर्नु भएको नेताहरुले जानकारी दिनुभएको छ ।
यसैगरी राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी र जनकराज शर्मा, राप्रपा अध्यक्ष प्रकाशचन्द्र लोहनी र नेमकिपाका नेता प्रेम सुवाल सहभागी हुनुभएको छ ।






प्रतिक्रिया राख्नुहोस्