एमालेद्वारा कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता, सरकार संकटमा

सुर्खेत– नेकपा (एमाले)ले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार वीरेन्द्रनगरमा बसेको एमाले संसदीय दलको बैठकले नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता शाहीलाई दिएको समर्थन फिर्ता लिएको हो । समर्थन फिर्ता लिएसँगै शाही नेतृत्वको सरकार संकटमा परेको छ ।

बुधबार एमाले संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा दलको बैठक बसेको थियो । बैठकले एमालेको तर्फबाट सरकारलाई दिएको समर्थन फिर्ता र तीन जना मन्त्री प्रकाश ज्वाला, दल रावल र नन्दसिंह बुढालाई पनि फिर्ता बोलाउने निर्णय गरेको हो ।

नेकपा गठनअघि २०७४ फागुनमा तत्कालीन एमालेले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनको लागि माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीलाई समर्थन दिएको थियो । उक्त धारामा कुनै दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न सकिने उल्लेख छ । तत्कालीन अवस्थामा एमालेका २० र माओवादी केन्द्रका १३ सांसदको समर्थनमा शाही मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।

एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा गठनपछि शाही नेतृत्वको सरकार धारा १६८ (१) को सरकारमा रुपान्तरण भएको थियो । उक्त धारामा प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेता मुख्यमन्त्री हुने उल्लेख छ । सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्केपछि कर्णाली सकार पुनः धारा १६८ (२) को अवस्थामा पुगेको थियो ।

दलको बैठकमा तीनजना मन्त्रीका साथै माधव नेपाल समूहका सांसदहरु सहभागी हुनु भएन । समर्थन फिर्ता लिएपछि शाही नेतृत्वको सरकार संकटमा परेको छ । शाहीसँग अब राजीनामा दिने वा प्रदेश सभाबाट विश्वासको मत लिने विकल्प छन् । यद्यपि वर्तमान सरकारको भविष्य वा नयाँ सरकार गठनको सम्भावना एमालेभित्र नेपाल समूहले लिने निर्णयमा निर्भर हुनेछ देखिन्छ । कर्णाली प्रदेश सभामा एमालेका २०, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका ६ र राप्रपाका एकगरी ४० जना सांसद छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.