नेपाल टेलिभिजनको महाप्रबन्धकमा वल नियुक्त

काठमाडौं– सरकारले नेपाल टेलिभिजनको महाप्रबन्धकमा पत्रकार फुलमान वललाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषदको गत बिहीबार बसेको बैठकले वललाई महाप्रबन्धक नियुक्त गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो । निवर्तमान महाप्रबन्धक गोविन्द रोकाको पदावधि सकिएपछि रिक्त स्थानमा वललाई चार वर्षका लागि नियुक्त गरिएको हो । उहाँ खुलाप्रतिस्पर्धाबाट महाप्रबन्धक हुनुभएको हो ।
काभ्रेको तेमाल गाउँपालिका- १ निवासी ४१ वर्षीय वल कान्तिपुर दैनिकको वरिष्ठ उपसम्पादक हुनुहुन्थ्यो । त्यसअघि उहाँले चेष्टा र जनप्रतिष्ठा साप्ताहिकमा काम गर्नुभएको थियो ।
सामूदायिक रेडियो प्रसारक संघका पूर्वउपाध्यक्ष रहनुभएका वल रेडियो नमोबुद्धका संस्थापक हुनुहुन्छ ।
नवनियुक्त महाप्रबन्धक वल पत्रकारिता सँगै साहित्य र कला क्षेत्रमा परिचित हुनुहुन्छ । उहाँले ‘काजोल खातुन’ कथा संग्रह, ‘महाभारतकी मैच्याङ’ कविता संग्रह, ‘सोनाम ग्याल्मो’ र ‘मेन्दोमाया’ नाटक लेख्नुभएको छ ।
वलको लेखन र निर्देशन रहेको ‘सेलफोन’ छोटो फिल्मले स्वदेश तथा विदेशमा थुप्रै अवार्ड जितेको छ । उहाँको लेखन तथा निर्देशनमा ‘निरफुल’ फिचर फिल्म निर्माण भएको छ ।
प्रतिक्रिया राख्नुहोस्