कुलेखानी सडकखण्डमा एक महिना यातायात बन्द हुने
काठमाडौं- मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने कुलेखानीको हेबी फाखेल सडकखण्डको पुनः मर्मतसम्भार गर्नका लागि एक महिना यातायात सेवा बन्द हुने भएको छ ।
आगामी वैशाख २८ गतेसम्मको लागि सबै प्रकारका यातायात सेवा बन्द गर्ने निर्णय गरेको वाग्मती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ ।
सो सडकखण्ड कुलेखानीको हेबीदेखि महालक्ष्मी हुँदै फाखेल र काठमाडौँ जिल्लाको सिमानामा पर्ने फर्पिङसम्मको सडकको ढलान, ढल निकास र कालोपत्रे गर्ने कार्यका लागि कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सबै प्रकारका यातायात सेवालाई बन्द गर्नुपरेको निर्देशनालयका प्रमुख निर्देशक डा सहदेव भण्डारीले जानकारी दिनुभयो । उहाँले दक्षिणकाली हुँदै सिस्नेरीतर्फ आउने सडकखण्डमा भने यातायात सञ्चालनमा रोक नलगाएको बताउनुभयो ।
निर्देशक भण्डारीका अनुसार सम्बन्धित यातायात व्यवसाय, जिल्ला प्रशासन र भौतिक पूर्वाधार मन्त्रालयका पदाधिकारीको संयुक्त बैठकले हेबी र फाखेल सडकखण्ड बन्द गर्ने निर्णय गरेको हो ।
दक्षिणकालीकादेखि सिस्नेरी र कुलेखानीको हेबीसम्म सडकमा ढल निकास र कालोपत्र निर्माण गर्ने प्रयोजनका लागि केही हप्तापछि सिस्नेरी सडकखण्ड पनि बन्द गर्ने सहमति भएको निर्देशनालयले जनाएको छ ।-
प्रतिक्रिया राख्नुहोस्