गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाबारे उपप्रधानमन्त्री पोखरेलको चासो

काठमाडौं– उपप्रधानमन्त्री ईश्वर पोखरेलले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिेकट रंगशालाका विषयमा चासो लिनुभएको छ ।

क्रिकेट रंगशाला निर्माणका प्रमुख अभियन्ता एवं धुर्मस–सुन्तली फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’लाई बिहीबार सिंहदरबारस्थित आफ्नै कक्षमा भेट्दै उपप्रधानमन्त्री पोखरेलले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा भइरहेका प्रगति र सरकारले गर्न सक्ने सहयोगका विषयका छलफल गर्नुभएको हो । उपप्रधानमन्त्री पोखरेलले प्रेरणादायी, प्रसंशनीय कार्य गरेको भन्दै धुर्मस–सुन्तली फाउन्डेशनको प्रशंसा गर्नुभयो । ‘अनुकरणीय काम गर्नुभएको छ, जुन सपना देख्नुभयो, त्यसमा चुनौती पनि आउँछन्, तर दृढतापूर्वक लाग्नुपर्छ, सबै उठेका प्रश्नको जवाफ कामले दिनुपर्छ,’ उहाँले भन्नुभयो ।

उपप्रधानमन्त्री पोखरेलले राज्यका तर्फबाट रंगशालालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि यसबारे छलफल गर्ने बताउनुभयो ।

उपप्रधानमन्त्रीले भेट्न बोलाएर रंगशालाको बारेमा चासो लिएपछि धुर्मस निकै भावुक बन्नुभएको थियो । आफू राज्यलाई सघाउने अभियन्ता भएको भन्दै धुर्मुसले टुहुरो जस्तो भएको बेला आफैंले बोलाएर चासो लिनुभएकोमा उपप्रधानमन्त्रीलाई धन्यवाद दिनुभयो । ‘बल्ल सरकार छ, राज्य छ भन्ने महसुस भयो, नत्र साँच्चिकै टुहुरो महसुस भएको थियो । हामीे निकै पीडा भोग्यौं, धेरैपटक बुढाबुढी रोएका छौं,’ उहाँले उपप्रधानमन्त्री पोखरेललाई भन्नुभयो ।

अहिलेसम्म विभिन्न क्षेत्र र दाताबाट ३३ करोड संकलन भएकोमा ४६ करोड भन्दा बढी खर्च भइसकेकाले १३ करोड ऋण रहेको जानकारी दिनुभयो । रकमको जोहो भए ६ महिनादेखि एक वर्षसम्ममा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तयार हुने उहाँले बताउनुभयो । ‘हाम्रो कुनै स्वार्थ छैन्, विशुद्ध कलाकार हो । जे गरेका हौं, राष्ट्रका लागि गरेका हौं । अन्तर्राष्ट्रियस्तरको सबै मापदण्ड पालना गरेर रंगशाला निर्माण गरिरहेका छौं । सहयोगी मनहरुको सदभावले अगाडि बढ्न धेरै ठूलो उर्जा लिइरहेको छ । त्यसैले कोरोनाको विषम परिस्थितिमा पनि काम रोकिएको छैन्,’ धुर्मुसको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.