निषेधाज्ञासँगै काभ्रेका मुख्य बजारहरु सुनसान

काभ्रे- कोभिड–१९ तिव्र गतिमा फैलिरहेको अवस्थामा यसको सङ्क्रमण रोकथाम र न्यूनीकरणका लागि हिजो राति १२ः०० बजेदेखि काभ्रेका दुई राजमार्ग र मुख्य बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेसँगै विपी, अरनिको राजमार्ग र बजार क्षेत्र सुनसान भएको छ ।

निषेधाज्ञाको समयमा काभ्रेको भक्तपुर र काभ्रेको सिमाना अरनिको राजमार्गको साँगादेखि बनेपा बजार, धुलिखेल सरदमुकाम, पाँचखाल नगरपालिकाको बजार क्षेत्र हुँदै दोलालघाटसम्म सडकको दायाँबायाँ पाँच सय मिटर क्षेत्र बन्द रहने छन् ।

त्यस्तै विपी राजमार्गको धुलिखेल चोकदेखि काभ्रेभञ्ज्याङ, भकुण्डेहुँदै मङ्गलटारसम्म सडकको दायाँबायाँ दुई सय मिटर, बनेपा तीनदोबाटोदेखि नाला भगवती मन्दिरसम्मको सडक दायाँबायाँ पाँच सय मिटर क्षेत्र, बनेपा–पनौती–खोपासी सडक खण्डको पाँच सय मिटर दायाँबायाँ क्षेत्र र पाँचखाल नगरपालिकाको जेरोकिलोदेखि कुन्ताबँेशीसम्मको सडक दायाँबायाँ क्षेत्रको दुई सय मिटर क्षेत्रमा निषेधाज्ञा जारी भएको हो ।

निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा एम्बुलेन्स, खानेपानी सेवा, दूरसञ्चार, बैंक, वित्तीय सेवा, इन्टरनेट, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्ध पदार्थ ढुवानी, मासु तथा मासुजन्य वस्तु बोकेका सवारी साधन, क्वारेन्टिन, आइसोलेशन, फोहोरमैला व्यवस्थापन, कुरियर तथा डाँक सेवामा प्रयोग भएका सवारी साधनहरुले विषय उल्लेख गरी सञ्चालन गर्न पाउने भएको छ भने जिल्लाभित्र प्रयोग हुने विकास निर्माणका सामग्री ढुङ्गा, गिट्टी, बालुवा र अन्य निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनले राति ९ः०० देखि बिहान ५ः०० बजेसम्म सञ्चालन गर्न पाउने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनुभयो ।

सो समयमा स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालन गरेर अत्यावश्यक सामग्री खाद्य सामग्री बेचबिखन, तरकारी, औषधि पसल सञ्चालन गर्न पाइने भएको छ । नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्था र अन्य आवश्यक सेवामा कार्यरत कर्मचारीले प्रयोग गर्ने निजी सवारी साधनको हकमा कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने छ ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी पोखरेलले यही वैशाख २६ गते राति १२ः०० बजेसम्मका लागि निषेधाज्ञा जारी रहने बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.