प्रधानमन्त्री ओली देउवा निवासमा
देउवा निवासमा भएको भेटमा समसामयिक राजनीतिक परिस्थितिलगायतका विषयमा छलफल भएको छ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी नेता कांग्रेस सभापति शेरबहादुर देउवाबीच बुधबार भेट भएको छ ।
बुढानिलकण्ठस्थित देउवा निवासमा भएको भेटमा समसामयिक राजनीतिक परिस्थितिलगायतका विषयमा छलफल भएको छ । देउवालाई भेट्न प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा बुढानिलकण्ठ जानुभएको थियो ।
भेटमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला, उपसभापति विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, प्रकाशशरण महतलगायत सहभागी हुनुभएको थियो ।
भेटमा प्रधानमन्त्री ओलीले लोकतन्त्रका लागि सँगै लडेका दलहरुबीच सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले संसदमा आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभयो ।
यता काङ्ग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसकिने जवाफ दिनुभएको सहमहामन्त्री डा प्रकाश शरण महतले जानकारी दिनुभयो ।
यही वैशाख २७ गते विश्वासको मत प्रयोजनका लागि प्रतिनिधिसभा बैठक बस्दै छ । यस्तै सभापति देउवाले कोराना भाइरसको संक्रमण भयावह भएकाले रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।






प्रतिक्रिया राख्नुहोस्