वरिष्ठ गायक प्रधानको निधन: राष्ट्रपति र प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त

काठमाडौं- वरिष्ठ गायक तथा सङ्गीतकार प्रेमध्वज प्रधानको ८४ वर्षका उमेरमा आज निधन भएको छ । छातीमा समस्या देखिएपछि वसुन्धरास्थित न्युरो अस्पताल काठमाडौँमा उपचाररत प्रधानको निधन भएको हो ।

पुख्र्यौली घर सिन्धुपाल्चोकको चौतारा भए पनि उहाँको जन्म काठमाडौंँको नःघलमा भएको थियो ।

पिता रत्नध्वज र माता प्राणदेवीका कोखबाट विसं १९९४ मा जन्मनुभएका प्रधानले २००९ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गर्नुभएको थियो ।

उहाँले गाएको विसं २०१७ मा तारादेवीसँगको युगल राष्ट्रिय गीत यो नेपाली शिर उचाली संसारमा लम्कन्छ, २०२१-२०२२ सालतिरको घुम्तीमा नआऊ है, गोरेटो त्यो गाउँको जस्ता गीत अझै पनि लोकप्रिय छन् ।

यस्तै यो नानीको शिरैमा इन्द्रकमल फूल फुल्यो जस्ता लोकगीत पनि चर्चित छन् ।

विसं २०२४ मा माइतीघर चलचित्रमा पहिलोपटक भारतीय गायिका उषा मंगेशकरसँंग गाएको नमान लाज यस्तरी जस्ता गीत अझै पनि सबैको जनजिब्रोमा झुण्डिएको छ ।

उहाँका हजुरबा नारायणकृष्ण र आमा सङ्गीतका पारखी भएकाले उहाँ सङ्गीतमय वातावरणमा हुर्किनुभएको थियो ।

उहाँ किशोरावस्थामा नारायणगोपालका साथ झण्डै एक महिना बिताउने गरी चौतारा आउनुभएको पारिवारिक स्रोतले जनाएको छ । उहाँले आधुनिक, लोकगीत, भजन तथा नेवारी गीत गरी एक हजारभन्दा बढी गीत गाउनुभएको बताइन्छ ।

उहाँका श्रीमती र दुई छोरा हुनुहुन्छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली साङ्गीतिक आकाशका उज्ज्वल नक्षत्र प्रेमध्वज प्रधानको निधनमा दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज बेलुका ट्वीट गर्दै वरिष्ठ गायक प्रधानप्रति श्रद्धाञ्जलिका साथ शोकाकुल परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।

“नेपाली सङ्गीतको श्रीवृद्धिमा उहाँको योगदानलाई हामी चीरकालसम्म सम्झिरहनेछौंँ ”, ट्वीटमा भनिएको छ । यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले आजै अपराह्न ट्वीट गरी मूर्धन्य गायक प्रधानको असामयिक निधनमा दुःख व्यक्त गर्नुभएको छ ।

दिवंगत प्रधानप्रति श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्रीले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । “नेपाली गीतसंगीतको क्षेत्रमा उहाँको योगदान सदा स्मरणीय रहने छ ”, ट्वीटमा भनिएको छ ।

प्रधानमन्त्री ओलीले आजै राष्ट्रिय समावेशी आयोगका सदस्य रामचन्द्र जोशीको असामयिक निधनमा दुःख व्यक्त गर्दैै उहाँप्रति श्रद्धाञ्जलिका साथ शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.