एमालेका माधव नेपाल समूह प्रधानमन्त्रीले विश्वासको मत लिने प्रकृयामा अनुपस्थित हुने
काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आजको प्रतिनिधि सभामा प्रधानमन्त्रीले लिन लाग्नु भएको विश्वासको मत सम्बन्धी प्रकृयामा अनुपस्थित हुेन निर्णय गरेको छ । भर्खर सकिएको नेपाल पक्षीय सांसदहरुको बैठकले विश्वासको मत लिने मतदान प्रकृयामा भाग नलिने निर्णय गरेको हो ।
यसअघि चर्चामा आए झैं यो समूहले सामूहिक राजिनामा भने नदिने भएको छ । राजिनामा पनि नदिने र विश्वासको मत सम्बन्धी प्रकृया अनुपस्थित हुने निर्णय भएको नेता भीम रावलले जानकारी दिनुभयो ।
नेपाल समूहको यो निर्णयसँगै कति जना सांसद आजको मतदानमा अनुपस्थित हुन्छन भन्ने एकिन नभएपनि सत्तारुढ दलकै सांसदले विश्वासको मत नदिने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत प्राप्त हुने सम्भावना कम भएको छ ।
यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ भने तेश्रो ठूलो दल नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन केही दिन अघि मात्र फिर्ता लिएको थियो ।
निर्णायक भूमिकामा रहेको जनता समाजबादी पार्टीले हिजो मात्र आफ्ना सांसदहरुलाई ह्वीप नलगाउने निर्णय गरेको भएपनि सो पार्टीका नेता डाक्टर बाबुराम भट्टराई र उपेन्द्र यादवले विश्वासको मतको विपक्षमा मतदान गर्न आफू निकट सांसदहरुलाई आव्हान गर्नुभएको छ ।
प्रधामन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । प्रतिनिधि सभा कार्य व्यवस्था परामर्श समितिको बैठकले मतदान सम्बन्धी कार्यसूची हिजै सार्वजनिक गरिसकेको छ ।।
प्रतिक्रिया राख्नुहोस्