‘नेपाल टेलिभिजन समृद्धि यात्रा’ कार्यक्रम स्वीकृत

काठमाडौं- नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आमसञ्चार, दूरसञ्चार, हुलाकलगायत क्षेत्रमा विगतमा गर्न बाँकी काम पूरा गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

शपथ ग्रहणपछि मन्त्रालयको कार्यभार सम्हाल्दै मन्त्री गुरुङले ‘नेपाल टेलिभिजन समृद्धि यात्रा’ कार्यक्रम स्वीकृत गर्नुभयो । उहाँले अघिल्लो पटक गत असोज २९ गते सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँले आज मन्त्रालयमा आयोजित कार्यक्रममा आफ्नो पहिलो कार्यकाल विवादित नभएको जनाउँदै अब पनि प्रतिबद्ध भएर काम गरिने बताउनुभयो ।

मन्त्री गुरुङले नेपालमा कोभिड सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले आफूले अघिल्लो कार्यकालमा मन्त्रालयको जिम्मेवारी सम्हाल्दा सबै विभाग, संगठनबाट भरपूर सहयोग पाएको बताउँदै भन्नुभयो, “सबैको सहयोगबाट हिजोको बाँकी काम पूरा गर्न लाग्नेछु ।”

सो अवसरमा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले मन्त्री गुरुङले आठ/नौ महिनाको कार्यकालमा धेरै सुधारको काम थालनी गर्नुभएको जानकारी दिनुभयो । कोभिडका कारण मन्त्रालय र त्यसअन्तर्गतका निकायमा कार्यरत कर्मचारी सङ्क्रमित भएको र कतिपय नियमित काम रोकिएको उहाँले बताउनुभयो । अहिले आमसञ्चार माध्यमले नागरिकलाई ससूचित गराउन लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, “नागरिकमा सचेतना बढाउन र स्वास्थ्य मापदण्डका बारेमा सजग बनाउन आमसञ्चारको भूमिका छ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.