कोरोना संक्रमणबाट पत्रकार कार्कीको निधन
काठमाडौं– नेपाल पत्रकार महासंघ च्यानल नेपाल शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना संक्रमणबाट निधन भएको छ ।
दुई सातादेखि काठमाडौंको स्वयम्भुस्थित मनमोहन मेमेरियल अस्पतालमा उपचाररत कार्कीको शनिबार राति निधन भएको हो ।
२०४४ साल मंसिरमा झापाको डोरामारीमा जन्मनुभएका कार्की जनता टाइम्स डट कमको सम्पादक हुनुहुन्थ्यो । प्रेस चौतारी नेपालका केन्द्रीय कमिटी सदस्य कार्की सौर्य दैनिकमासमेत आबद्ध हुनुहुन्थ्यो ।
नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले शोक बक्तव्य जारी गर्दै कार्कीको निधनले महासंघ स्तब्ध र दुःखी भएको बताउनुभएको छ । महासंघले स्वर्गीय पत्रकार कार्कीप्रति हार्दिक श्रद्धाञ्जली अर्पणगर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ । साथै शोकको यस घडीमा महासंघ शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गरेको छ ।
कोरोनाकै कारण हालसम्म १३ जना पत्रकारको निधन भएको छ भने ७ सय ५०भन्दा बढी पत्रकार संक्रमित भएका छन् । पछिल्लो केही दिनयता कोरोना संक्रमणको दर बढिरहेकोछ । कोरोना संक्रमणको चुनौतीपूर्ण यो अवस्थामा महासंघ सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न महासंघले पत्रकारहरुमा अपिल गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्