कर्णालीमा दुई मन्त्रीको शपथ

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गर्नु भएको छ । नवनियुक्त मन्त्रीद्वय सीता नेपाली र गोपाल शर्मालाई प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले आज पद तथा गोपनियताको शपथ खुवाउनु भएको हो । मुख्यमन्त्री शाहीले आइतबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गर्दै दुईजना मन्त्री थप्नु भएको थियो ।

नेपालीलाई आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्री र शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरिएको हो । नेपाली सुर्खेतबाट समानुपातिक र शर्मा रुकुम पश्चिमबाट निर्वाचित सांसद हुनुहुन्छ । उहाँहरु दुवैजना माओवादी केन्द्रका सांसद हुनुहुन्छ ।

गत बुधवार मात्र मुख्यमन्त्रीले तीनजना मन्त्री नियुक्त गर्नुभएको थियो । तर सत्ता साझेदार कांग्रेसको असन्तुष्टिका कारण उहाँहरुको शपथ रोकिएको थियो । कांग्रेसले दुईवटा मन्त्रालय मागेपछि माओवादीका मन्त्रीहरुको शपथ रोकिएको होे । यसअघि मन्त्रीमा नियुक्त भए पनि शपथ रोकिएका माओवादीका सांसद विन्दमान विष्टलाई पनि रोकिएको छ । कांगेसलाई दुई मन्त्रालय दिनुपर्ने भएपछि विष्ट मन्त्री हुनबाट रोकिनु भएको छ । अब कांग्रेसलाई पनि सरकारमा सहभागी गराइने र दुई मन्त्रालय दिने मुख्यमन्त्री शाहीको तयारी छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर बनाइएको जलस्रोत तथा ऊर्जा विकास र सामाजिक विकास मन्त्रालय कांग्रेसले पाउने छ । यी दुई मन्त्रालय हाल मुख्यमन्त्री शाहीले नै राख्नुभएको छ ।

वैशाख ३ गते मुख्यमन्त्री शाहीले विश्वासको मत लिने क्रममा कांग्रेसले सहयोग गरेको थियो । तर हालसम्म कांग्रेसले सरकारमा सहभागी हुनेबारे आधिकारिक निर्णय भने गरेको छैन् । मुख्यमन्त्रीलाई विश्वासको मत दिने क्रममा फ्लोर क्रस गरेका एमाले नेता माधव नेपाल समूहका तीनजना यसअघि नै मन्त्री नियुक्त भइसक्नुभएको छ ।

माओवादीले भने यसअघि अवसर पाएकालाई नरेश भण्डारी र विमला केसीलाई मन्त्रीबाट बिदा गरेर नयाँलाई अवसर दिइएको छ । नवनियुक्त मन्त्रीहरुले सोमबार नै पदभार ग्रहण गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.