पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध मतदान गर्नु गम्भीरः एमाले

काठमाडौं– सत्तारुढ नेकपा एमालेले बागमती प्रदेशमा सम्पन्न राष्ट्रिय सभा सदस्यको उप निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध मतदान गर्नु गम्भीर रहेको बताएको छ ।

स्थायी कमिटीको बिहीबार बसेको बैठकले भनेको छ, ‘बागमती प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा देखापरेका पार्टीको निर्देशनविपरीत पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध मतदान गर्ने र पार्टी निर्णयको अवज्ञा गर्ने प्रवृत्तिलाई अत्यन्त गम्भीरताका साथ लिँदै भर्त्सना गरेको छ ।’

बैठकले पार्टी केन्द्रीय सदस्य एवं पूर्व सांसद योगनारायण यादवको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । उहाँको निधनबाट तराई–मधेसले एकजना सक्रिय र सम्भावनायुक्त नेता गुमाएको निष्कर्षका साथ बैठकले शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।

बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड महामारीको बढ्दो प्रकोप र यसका विरुद्ध सरकारले गरिरहेका प्रयासहरुका बारे जानकारी गराउनु भएको थियो । ‘बैठकले सरकारका प्रयासहरु सकारात्मक रहेको निष्कर्षका साथ कोभिड महामारीका विरुद्ध बाह्य सहयोग जुटाउन, अक्सिजन, अत्यावश्यक औषधी र स्वास्थ्य सामग्रीहरुको कुनै कमी हुन नदिन, एकीकृत ढङ्गले कोभिडविरुद्ध लड्नका लागि आवश्यक कानुनी र संरचनाको व्यवस्था गर्न एवं जनताको जीवनरक्षाका लागि कुनै कमी रहन नदिन सुझाव दिएको छ,’ बैठकपछि जारी विज्ञप्तीमा जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.