युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा गौतम नियुक्त

काठमाडौं- कोरोना उपचारका लागि सरकारले तोकेको केन्द्रीय युनिफाइड अस्पताल (वीर अस्पताल)को प्रमुख प्रशासकीय अधिकारीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमलाई नियुक्त गरिएको छ ।

सोमबार स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले मन्त्रीस्तरीय निर्णय गर्दै युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा प्राडा गौतमलाई नियुक्त गर्नुभएको हो । उहाँले यसअघि थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति अस्पतालको निर्देशकको रुपमा काम गर्नुभएको थियो ।

सरकारले वीर नयाँ बनेको सर्जिकल भवनमा पाँचसय बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेको छ । सरकारले गत ७ जेठमा जारी गरेको कोभिड १९ संकट व्यवस्थापन सम्वन्धमा व्यवस्था गर्न बनेको अध्यादेशको दफा ६ (१)मा संक्रमितको निदान र उपचारको काम एकीकृत रुपमा सञ्चालन र व्यवस्थापन गर्न वीर अस्पताल कोभिड युनिफाइड केन्द्रीय अस्पतालको रुपमा रहने र उक्त अस्पताल सञ्चालन गर्न प्रमुख प्रशासकीय अधिकारी नियुक्ति गरिने उल्लेख छ ।

अस्पतालको प्रमुख प्रशासकीय अधिकारीको रुपमा निजामती सेवाको राजपत्राकिंत प्रथम श्रेणी वा नेपाल स्वास्थ्य सेवाको एघारौँ तहको अधिकृत वा बरिष्ठ चिकित्सकलाई खटाउन वा नियुक्त गर्न सक्ने उल्लेख गरिएको थियो । प्राडा गौतम ११ औं तहको चिकित्सक हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.