महामारीले सरकारको वेगलाई व्यवधान पुर्‍यायो- प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जयन्ती र बुद्ध परिनिर्वाण तथा लुम्बिनी दिवसका अवसरमा दिनुभएको सन्देश

विश्वभरिकै शान्ति, मानवता, सद्भाव, सहिष्णुता र मानवीय सुख चाहने सम्पूर्ण बौद्धमार्गी एवं अरु तमाम दिदीबहिनी तथा दाजुभाइहरु !

चन्द्रपात्रोअनुसार वैशाख पूर्णिमाको दिनलाई हामीले सधैँ बुद्ध जयन्तीका रुपमा मनाइरहेका हौं, मनाई आएका छौं । त्यसै दिन २६४५ वर्ष अघि सिद्धार्थ गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको थियो । यद्यपि गौतम बुद्धको जन्म, बुद्धत्व रपरिनिर्वाण एकै तिथिमा भएको हुनाले २५६५औं जन्मदिन वा जन्मजयन्ती भनेर पनि आज मनाइँदै छ ।

बुद्धका उपदेशहरु मानव जातिको हितमा, विश्व शान्तिको पक्षमा, अहिंसाको पक्षमा, हिंसा, अशान्ति, लडाइँ, द्धन्द्ध, झगडा, परस्परमा घृणा, द्धेष र नराम्रा सोंच र नराम्रा व्यवहारहरुका विरुद्ध भएको हुनाले यसलाई विश्वव्यापी रुपमा मानवीय आकांक्षाको रुपमा स्वीकाररेर संयुक्त राष्ट्रसंघले सन् १९९९ देखि नै यस दिनलाई बेशाख डे का रुपमा मनाउँदै आएको छ । अर्थात, बुद्धजयन्तीको रुपमा मनाउँदै आएको छ ।

आज जतिबेला विश्व विभिन्न ठाउँमा तनावग्रस्त छ, द्धन्द्धग्रस्त छ वा द्धन्द्धका सम्भावनाहरुबाट त्रस्त छ । यस्तो अवस्थामा बुद्धका उपदेशहरु, बुद्धका सन्देशहरु र बुद्धको शान्तिवादी दर्शन, मानवतावादी दर्शन, यसको महत्व र सान्दर्भिकता कायम रहेको मात्रै होइन, अझ बृद्धि भएको छ ।

आज मानव जातिलाई हरेक ठाउँमा शान्ति चाहिएको छ । मानव जातिकै कारणले शान्ति खलबलिने हो । मानव जातिकै कारणले खलबलिएको शान्तिलाई मानव जातिकै सचेतनता र सचेत प्रयासहरुबाट शान्तिमा परिणत गर्न, शान्तिलाई कायम राख्न, शान्तिलाई दीगो बनाउन सकिन्छ । त्यसै कारण बुद्धका शान्तितर्फका चिन्तन, आदर्श र उपदेशहरु अत्यन्तै सान्दर्भिक र महत्वपूर्ण रहेका छन् । आजको विश्वले यी कुराहरुलाई मनन् गर्नु र अगाडि बढ्नु आवश्यक छ ।

अब सिद्धार्थ गौतम बुद्धको जन्मस्थानका बारेमा कुनै द्विविधा रहेन । यद्यपि यो फाइयानको समयमा पनि नरहेको, वेङसाङको भ्रमणका बेला पनि नरहेको, सम्राट अशोकको भ्रमण र उहाँले उहाँले खडा गरेका स्तम्भहरुको समयमा पनि नरहेको, तर बीचमा कतिपय कारणहरुले नेपाल जो बुद्धकै जन्मभूमि हो र बुद्धिज्मको, बुद्धवादको, बुद्ध दर्शनको उद्गमस्थल पनि हो र शान्तिको सन्देश छर्ने थलो पनि हो । विभिन्न धार्मिक असहिष्णुता जस्ता कुराहरु, धार्मिक संकीर्णता जस्ता कुराहरुल बुद्ध दर्शनका विरुद्ध अनेक क्रियाकलापहरु भए र बुद्धका शान्तिका सन्देशहरुलाई यस धर्तीबाटै मेटाउन खोजिए । तर, बुद्धका उपदेशहरु, बुद्धको चिन्तन र बुद्धले देखाएको शान्तिको मार्ग र मानव जातिको सुखका निम्तिको उज्ज्यालो मर्न सक्दैनथ्यो र मरेन । तसर्थ, फेरि बुद्धको जन्मस्थानको खोजी हुने परिस्थिति बन्यो । बुद्धको जन्मस्थान किन खोज्नु पर्‍यो ? बुद्धका विभिन्न रिलिक्स अथवा अवशेषहरु तिनीहरुको खोजीको महत्व र तिनको पवित्रताको बारेमा विश्वको ध्यान किन गयो ? यी सबै कुरा मानव जातिको आन्तरिक आकांक्षा अथवा शान्ति र सुखको आकांक्षाबाट यी कुराहरुको खोजी हुन थाल्यो । र, पछिल्लो समयमा आएर अब विभिन्न ठाउँहरुमा, विभिन्न स्थानहरुमा, विभिन्न देशहरुमा रहेका भ्रमहरु टुङ्गिएका छन् । र, यसरी अब बुद्धको जन्मस्थान नेपालको लुम्बिनीमा पर्दछ भन्ने कुरा स्थापित भइसकेको छ ।

अझै पनि दुनियाँका कतिपय देशहरुका पाठ्यक्रमहरुमा यस्ता कुराहरु नसच्चिएको भन्ने पनि सुनिन आएको छ । म सबैमा यस्ता त्रुटिहरु आजको वैज्ञानिक युगमा, सूचनाको युगमा त्रुटिहरु नै निरन्तर कायम राखेर बालबालिका वा नयाँ पिढीलाई तिनै त्रुटिहरु पढाउनु वाञ्छनीय हुँदैन । त्यसकारण सत्य पढाउने तर्फ, सत्य सिकाउने तर्फ र बालबालिकाहरुलाई सत्य कुरा अवगत गराउने दिशातर्फ म सबैको ध्यानकर्षण पनि गराउन चाहन्छु ।

अब कुनै द्विविधा छैन कि बुद्धको जन्म लुम्बिनीमा भएको थियो र बुद्धवादको मुहान पनि त्यहीं थियो, जहाँबाट बुद्ध मानव जातिको जरामरण जस्ता कुराहरुबाट मुक्ति कसरी हुन्छ भन्ने कुराको खोजीमा दरवार त्यागेर, सुखसयल त्यागेर बाहिर निस्कनु भएको थियो । त्यहींबाट बुद्धका चिन्तनको मुहान शुरु हुन्छ । यसरी नेपाल बुद्धको जन्मस्थल र बुद्ध दर्शनको उद्गमस्थल हो । यी तथ्यहरुसम्म पुर्‍याउन र लुम्बिनीलाई आजको स्थितिसम्म ल्याई पुर्‍याउन योगदान गर्नुहुने इतिहासका सबै महान पात्रहरु र लुम्बिनीको विकासको सम्बन्धमा गुरुयोजना बनाउने टांगे लगायतका महानुभावहरु, यसलाई अन्तर्राष्ट्रियकरण गर्ने संयुक्त राष्ट्रसंघको विषय बनाउने र लुम्बिनीको विकासमा विशेष अभिरुचि राखेर योगदान गर्ने संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव उथान्तलाई पनि म सम्मानपूर्वक स्मरण गर्न चाहन्छु । त्यसबेला केही प्रयासहरु भए र पछि फेरि शिथिल भए ।

आज हामीले लुम्बिनीको विकासको प्रयासलाई फेरि अगाडि बढाएका छौं । लुम्बिनीको विकासका प्रयासहरु अहिले भर्खरै पनि, हालसालै पनि सिद्धार्थ गौतम बुद्धको बुबाको दरवार अथवा शुद्धोधनको दरवारको वैज्ञानिक जाँच र उत्खनन्का कार्यहरु हालै पनि भएका छन् । जमिनको एक्स–रे गरेर, जमिन मुनि कस्तो दरवारको भंग्नावशेष छन् भन्ने कुराहरु पत्ता लगाएर, त्यसको उत्खनन् गरिनेछ । ती कामहरु अत्यन्तै ऐतिहासिक महत्वका छन् । र, तिनको कुन समय थियो, त्यहाँभित्र प्राप्त भएका सामानहरु भन्ने कुराले पनि त्यो समयलाई देखाउँछ र यसअघि नै बुद्धकाल कुन थियो भन्ने अवगत हुन्छ । यो कुरा त्यहाँका इँटा लगायतका अन्य भंग्नावशेषले पनि देखाएका छन् । अहिले हामीले बुद्धको मावली घर, जन्मथलो, पिताको दरवार र रामग्रामको स्तुपा, जहाँ विश्वमा उत्खनन् नगरिएको एकमात्र बुद्ध अस्तु त्यहाँ छ, त्यस क्षेत्रलाई समेत लिएर बृहत्तर लुम्बिनी सर्किटको व्यवस्थापन गरिरहेका छौं ।

हामीले लुम्बिनीलाई फरक ढंगले विकास गर्नुपर्छ भनेर त्यसलाई नयाँ ढंगले फलफुल बगैंचाको रुपमा बृक्षारोपण गर्नेदेखि त्यहाँ पाँच हजार क्षमताको अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र र ध्यानकेन्द्र निर्माण गर्ने काम गरिरहेका छौं । र, अहिले ध्यानकेन्द्र लगभग तयारी अवस्थामा पुग्न लागेको छ । त्यसभन्दा अगाडि नै वर्तमान सरकार बन्नेवित्तिकै हामीले त्यहाँ तीन हजार क्षमताको ध्यानकेन्द्र र सभाहल तत्काल निर्माण गर्‍यौं र अब लुम्बिनीलाई हाम्रो इतिहासको गौरव, हाम्रो देशले विश्वमानव जातिलाई दिएको सन्देश, यी कुराहरुको सम्मान, स्मरण र धारण गर्दै अगाडि बढ्ने सन्दर्भमा महत्वपूर्ण कामहरु गरिरहेका छौं ।

लुम्बिनी बौद्ध धर्मालम्बीहरुको एउटा तीर्थस्थल हो । विश्वभरिका बुद्धमार्गीहरु, शान्तिप्रति आस्था हुने व्यक्तिहरु, शान्तिका अनुयायीहरु र आकाङ्क्षीहरु सबैका निम्ति लुम्बिनी तीर्थस्थल हो । र, जीवनमा एकपटक लुम्बिनी आउने र सिद्धार्थ गौतम बुद्धको जन्मस्थल हेर्ने, त्यो पवित्र धर्तीलाई स्पर्श गर्ने, त्यो मानवीय इच्छा पूरा गर्नका लागि पनि हामीले अनुकूल बनाउन आवश्यक थियो र छ । त्यसै सन्दर्भमा हामीले भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल, बौद्ध विमानस्थल, लुम्बिनी बौद्ध विमानस्थल भनेर निर्माण गरिरहेका छौं । अब त्यहाँबाट उडान संचालन गरेर सिधैँ विश्वका कुनै पनि देशका मानिसहरु सोझै लुम्बिनीमा आउने, त्यस पवित्रस्थलको दर्शन गर्ने र त्यहाँको वातावरणबाट शान्तिका निम्ति प्रेरित हुने, त्यसबाट आत्मिक, मनोवैज्ञानिक वा विचारधारात्मक सकारात्मक परिवर्तन लिने कामहरु गर्न सक्ने परिस्थिति हामी निर्माण गरिरहेका छौं ।

हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा बोकेर बहुतै तीव्र गति एवं उत्साह र आत्मविश्वासका साथ अघि बढिरहेको बेला कोभिड–१९ को महामारीले हामीलाई हाम्रो गतिलाई, हाम्रो वेगलाई गम्भीर रुपमा व्यवधान पुर्‍यायो । तर, हामी निराश हुनहुँदैन, निराश भएका छैनौं ।

आज हामी यसरी एउटा भिडियो सन्देशमार्फत अथवा भिडियो सम्बोधनमार्फत वेशाख डे अथवा बुद्ध जयन्ती मनाइरहेका छौं । हामीले सन् २०१९ मा भियतनाममा भएको अन्तर्राष्ट्रिय वेशाख डेमा भरसक अर्को वर्ष हामी वेशाख डे नेपालमा गर्न पाउँ, होइन बीचमा सम्भव भएन, त्यसमा अलिकति उहाँहरुका केही प्रचलनहरु पनि छन् । त्यसले गर्दा हामीले बीचमा नपाउने सम्भावना थियो । त्यस्तो हो भने २०२१ मा नेपालले वेशाख डेको आयोजना गर्न पाओस् भनेर मैले आफ्नो मन्तव्य राख्दा त्यहाँ अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको थिएँ । र, वेशाख डे सम्बन्धी निर्णायक समितिका साथीहरु सबैसँग र त्यहाँ उपस्थित अन्तर्राष्ट्रिय समुदायसँग पनि मैले आग्रह गरेको थिएँ । त्यसका प्रमुख ब्रम्हपण्डितजी लगायत सबै साथीहरुसँग पनि मैले आग्रह गरेको थिएँ कि वेशाख डे नेपालमा मनाइयोस् । तर, आज हामी यसरी मनाउन बाध्य छौं कि अन्तर्राष्ट्रिय सम्मेलन खुलेर मनाउने होइन कि यसरी एउटा सन्देशमार्फत मनाउने अवस्थामा हामी पुगेका छौं ।

आज कोभिड–१९ विभिन्न भेरियन्टका साथ नयाँनयाँ लहर सिर्जना गर्दै मानव जातिका सुख खोस्न एउटा भयानक चुनौतीका रुपमा उपस्थित भइरहेको छ । यतिबेला हामी यस महामारीको सामना गरिरहेका छौं र यो कार्यक्रम पनि हामीले यस रुपमा मनाउनु परिरहेको छ ।

यतिबेला म सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरुलाई आग्रह गर्न चाहन्छु, हामी भयावह स्थिति भएपनि यसबाट आत्तिनु हुँदैन र नआत्तिनुको अर्थ असावधान हुनुहँुदैन । हामीले धैर्यतापूर्वक र सावधानीका साथ यस महामारीसँग मुकाविला गर्नुपर्दछ । यसलाई आपूmमा सङ्क्रमण हुन नदिने, अरुलाई पनि सङ्क्रमण नगर्ने, कतै सङ्क्रमणको स्थिति बन्न नदिने, त्यसका निम्ति सामाजिक दूरी कायम गर्ने लगायतका कुराहरुमा मास्क अनिवार्य प्रयोग गर्ने अथवा स्वास्थ्यसम्बन्धी, खानपिनसम्बन्धी र अन्य कुराहरुमा पनि उत्तिकै ध्यान दिने गर्नु आवश्यक छ । आफ्नो प्रतिरोध क्षमता वृद्धि गर्ने जस्ता कुराहरुमा पनि ध्यान दिन म सबैमा आग्रह गर्न चाहन्छु ।

हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा बोकेर बहुतै तीव्र गति एवं उत्साह र आत्मविश्वासका साथ अघि बढिरहेको बेला कोभिड–१९ को महामारीले हामीलाई हाम्रो गतिलाई, हाम्रो वेगलाई गम्भीर रुपमा व्यवधान पुर्‍यायो । तर, हामी निराश हुनहुँदैन, निराश भएका छैनौं ।

कहीँ पनि महामारीको सम्बन्धमा पूर्वतयारी हुँदैन । हामीले देख्यौं विकसित, सम्पन्न र सुविधासम्पन्न देशहरुमा पनि यससम्बन्धी भ्याक्सिन थिएन, यससम्बन्धी पूर्वतयारी पनि थिएन । महामारी भनेको यस्तै संकट खडा गर्ने स्वास्थ्यसम्बन्धी गम्भीर समस्या हो । जो अचानक, व्यापक रुपमा र भयावह ढंगले आइलाग्छ, तब न महामारी भनिन्छ । हाम्रोमा पनि त्यस्तै अवस्था थियो । तर, हामीले विभिन्न उपायहरु, विभिन्न तरिकाहरुबाट यसको पहिलो वेभलाई सफतापूर्वक नियन्त्रण गर्‍यौं । विभिन्न क्षेत्रका केही कमिकमजोरी र केही बाध्यात्मक स्थितिहरुको कारणले दोस्रो वेभ फेरि आयो, जसलाई हामी अहिले अगाडि बढ्न दिइरहेका छैनौं, यसलाई रोकिरहेका छौं । र, यसलाई अब नियन्त्रणको दिशामा अगाडि बढ्ने स्थिति सिर्जना गरेका छौं । अब सिलिन्डरको कमी, अक्सिजनको कमीजस्ता कुराहरुको अन्त्य गरेका छौं । अब भेन्टिलेटरको कमीजस्ता कुराहरुको पनि अन्त्य गरेका छौं । अब बेडहरुको कमी अन्त्य गरेका छौं । स्वास्थ्य उपचारको सन्दर्भमा औषधि वा स्वास्थ्य उपकरणहरुको सन्दर्भमा कुनै कमी हुन नदिने कामहरु हामीले गरेका छौं । अब भ्याक्सिन हामीले शुरु गरेका छौं । दक्षिण एसियामा हामी भ्याक्सिन उत्पादक होइनौं । तर, भारतभन्दा पछि दोस्रो देश हामी हौं, जसले भ्याक्सिन शुरु गर्‍यौं । अहिले महामारी दोस्रो लहर, तेस्रो लहर र विभिन्न भेरियन्टका साथ आएको हुनाले भ्याक्सिनको पर्याप्तता विश्वमा छैन । त्यो अपर्याप्तताको सामना पनि हामीले गरिरहेका छौं । हाम्रा प्रयासहरु जारी छन् र हामीले भ्याक्सिन छिट्टै नै उपलब्ध गराउने छौं र आवश्यक मात्रामा भ्याक्सिनको अभियानलाई अगाडि बढाएर निकट भविष्यमा सम्पूर्ण जनतामा भ्याक्सिन पु¥याउने प्रयासमा जुटेका छौं । तसर्थ, सरकारका प्रयासहरुप्रति विश्वस्त रहन, यो महामारी हो, यो हामी सबैको साझा समस्या हो । यसकारण यसका विरुद्ध लड्न सबै एकजुट हुनका लागि म सबैमा आग्रह पनि गर्न चाहन्छु ।

यस सन्दर्भमा, आजको विशेष दिनमा म फेरि एकपटक शान्ति, सद्भाव, करुणा, मैत्री र मानवताका निम्ति सिंगो अन्तर्राष्ट्रिय समुदायसमेत सबैमा धेरैधेरै नै हार्दिक आग्रह गर्न चाहन्छु । सबैमा धेरैधेरै शुभकामना ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.