वारपाकमा कोरोना संक्रमणको दर घट्दो, स्वास्थ्यकर्मीको टोली फर्कियो
गोरखा- कोरोना परिक्षण र स्वास्थ्य उपचारका लागि वारपाक पुगेको स्वास्थ्यकर्मीको टोली फर्किएको छ ।
दुईदिनसम्म वारपाकमा रहेको टोलीले ९ शय ७४ जनाको कोरोनाको एन्टिजेन परिक्षण गरेको थियो भने स्वास्थ्य उपचारसँगै मनोसामाजिक परामर्श उपलब्ध गराएको थियो ।
विभिन्न टोलका ९ सय ७४ जनाको एन्टिजेन परिक्षण गर्दा ८१ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।
यस्तै ३ सय ४२ जनाको पिसिआर विधिबाट कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएको थियो । जसमध्ये १ शय ३० जनामा कोरोना संक्रमण देखिएकोे प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निरिक्षक नानीबाबु दानीले बताउनुभयो ।
वारपाकमा समुदायमा फैलिएको कोरोना संक्रमणको दर भने घट्दो क्रममा रहेको पाइएको स्वास्थ्यकर्मीको भनाइ छ । कोरोना
संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको संख्या बढेपछि गण्डकी प्रदेश सरकारले दुईजना विशेषज्ञ डाक्टर, एक जना मेडिकल अफिसर, दुई जना नर्सिङ स्टाफ, एक जना मनोपरामर्शकर्ता र एकजना जनस्वास्थ्य निरिक्षकको टोली वारपाक पठाएको थियो ।
यस्तै जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रले पनि गोरखा अस्पताल र स्वास्थ्य कार्यालयको टोली त्यहाँ खटाएको थियो ।
रुघाखोकी र ज्वरोका कारण जेठ लागेएता मात्रै वारपाकका १३ जनाको मृत्यु भएको छ ।
मृतकमध्ये ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
बाहिरबाट गएको स्वास्थ्यकर्मीको टोली फर्किएपनि स्थानीय स्वास्थ्यकर्मीले आवश्यक उपचार र परामर्शको काम जारी राखेका वारपाक सुलिकोट गाऊँपालिकाले जनाएको छ ।।
प्रतिक्रिया राख्नुहोस्