विवेकशील नेपाली दलका संस्थापक थापाको निधन
काठमाडौं– विवेकशील नेपाली दलका संस्थापकसमेत रहनुभएका विवेकशील साझा पार्टीका पूर्वसंयोजक उज्वल थापाको निधन भएको छ ।
४४ वर्षीय थापाको मेडिसिटी अस्पतालमा उपचारकोक्रममा मंगलबार अपराह्न ४:२५ बजे निधन भएको विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले जानकारी दिनुभयो ।
कोरोना संक्रमण भएपछि थापालाई अस्पताल भर्ना गरिएको थियो । सोमबारमात्र उहाँको कोरोना नेगेटिभ आएको थियो । सुरुमा ग्रान्डी अस्पताल भर्ना गरिएका थापाको स्वास्थ्यमा सुधार नआएपछि मेडिसिटी ल्याएर इक्मो प्रविधिबाट उपचार गरिएको थियो । उपचार महंगो भएकाले पार्टीका नेताहरुको अगुवाइमा भएको आर्थिक संकलनमा एकै दिन पचास लाख रुपैयाँ भन्दा बढी संकलन भएको थियो ।
थापाको परिवारले संक्रामक रोगको समयमा अन्तिम संस्कार साधारण पारिवारिक तवरले गर्ने इच्छा भएकोले सम्भव भएसम्म सहभागी नभइदिनुहुन अनुरोध गरेको छ ।
विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले आम नागरिकले व्यक्त गर्नुभएका सद्भाव, सदिच्छा तथा प्रार्थनाको लागि आभार व्यक्त गर्दै राष्ट्रपति, नेपाल सरकार तथा विभिन्न राजनीतिक दलका तर्फबाट व्यक्त भएको सहयोग गर्ने इच्छा, सद्भाव र शुभेच्छाका लागि कृतज्ञता व्यक्त गर्नुभएको छ ।
पार्टीले थापाको निधनमा शोक व्यक्त गर्दै स्व. थापाको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ ।
विभिन्न राजनीतिक दल, सामाजिक क्षेत्रका व्यक्तित्वहरु तथा आम नागरिकहरुले पनि शोक बक्तव्य तथा सामाजिक सञ्जालबाट स्व. थापाको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।
युवाहरुको सामाजिक अभियानबाट सुरु भएको विवेकशील दललाई पछि पार्टीको रुप दिइएको थियो । मेडिकल शिक्षालगायतका सामाजिक, राजनीतिक क्षेत्रमा विवेकशील दलले अभियान सञ्चालन गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्