मौरीले धानेको जीवन : प्रविधि भने भित्र्याउन सकिएको छैन
धनकुटा-धनकुटामा धेरै किसानले परम्परागत प्रविधिबाटै प्रशस्त मह उत्पादन र बिक्री गरी जीविकोपार्जन सहज बनाएका छन् ।
उनीहरुले महबाट राम्रो आम्दानी गरेका छन् । माहुरी पालन र मह उत्पादनको प्रशस्त संभावना रहेपनि प्रविधि, तालिम र स्रोत केन्द्रको अभावमा किसानहरु व्यवसायिक बन्न नसकिरहेका बेला केही किसानले राम्रो उपलब्धि हात पारेका छन् ।
आर्थिक उपार्जनका लागि गाउँबाट बैदेशिक रोजगारीमा जाने युवाको संख्या बढिरहेको बेला धनकुटाको पाख्रिवास नगरपालिका वडा न. ९ मजुजाका शुक्रबहादुर राईले भने गाउँमा नै माहुरी पालन गरेर आफ्नो भविष्य खोजिरहनु भएको छ ।
बर्षौ अघिदेखि माहुरी पालनमा संलग्न उहाँले आफनो परिवार मह बेचेको आम्दानीबाट चलाइरहेको बताउनुभयो । ७० घार भन्दा बढि माहुरी पालेका राईले मह र आधुनिक माहुरीको घार बेचेरै बार्षिक १४ लाख भन्दा बढिआम्दानी हुने बताउनुभयो ।
देशका लाखौँ युवा विदेशी भूमिमाआफ्नो पसिना बगाइरहेका छन ।उनीहरुलाई स्वदेशमा नै रोजगारी सृजना गर्नुपर्ने उहाँको सुझाव छ । नेपालमा कोरोना संक्रमण फैलिनु अघि दैनिक १५ सयदेखि २ हजार युवा रोजगारीका लागि बाहिर जाने गर्थे ।
तर विदेश गएर अर्काको लागि पसिना बगाउनुभन्दा स्वदेशमा नै केहि गर्नुको आनन्द बेग्लै हुने शुक्रबहादुरको भनाइ छ । २० वटाआधुनिक घारबाट माहुरीपालन सुरु गरेका मजुवाकै दुर्गाबहादुर दर्लामीले पनि ४० घार बढिआधुनिक घारमा माहुरी पालिरहनु भएको छ ।
माहुरी पालनबाट मनग्गै आम्दानी लिन सकिने उहाको भनाइ छ । तर किसानलाई प्रविधि ज्ञानको भने अभाव छ त्यसैले सरकारले माहुरी पालक किसानका लागि प्रविधि ज्ञानका साथ साथै विभिन्न तालिमहरु सञ्चालन गर्नुपर्ने उहाँको माग छ ।
धनकुटाका युवाहरुसमेत माहुरी पालनमाआकर्षित भएका छन् ।
कृषिज्ञान केन्द्रसँग परम्परागत घार बाहेक ६ सय आधुनिक घारमा सेरेना जातको माहुरी किसानले लगाएको तथ्यांक छ । तर ज्ञानकेन्द्र धनकुटासँग युवा लक्षित कार्यक्रमबाहेक माहुरी पालनलाई प्रबर्दन गर्ने खालका कार्यक्रम नै छैन ।
धनकुटामा बार्षिक रुपमा उत्पादन हुने ९.३ मेट्रिकटन महका लागि बजारको कुनै समस्या छैन।
तर मह र माहुरीपालनमै व्यवसायिक संभावना देखेर पनि परम्परागत प्रविधिमै अल्झिन बाध्य किसानलाई व्यवसायिक बनाउन थप सरकारी सहयोगको भने खाँचो रहेको जानकारहरु बताउँछन।।
प्रतिक्रिया राख्नुहोस्