नेपाल रेडक्रसलाई एक सय थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

काठमाडौं– रेडक्रस तथा रेडक्रिसेण्ट सोसाइटीहरुको अन्तराष्ट्रिय महासंघ (आइएफआरसी) ले नेपाल रेडक्रस सोसाइटीलाई एक कार्यक्रमको आयोजना गरी एक सय थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।

नेपाल स्थित रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी) को एसिया प्यासेफिक कार्यालय क्वालालाम्पुरको पहलमा अक्सिजन कन्सन्ट्रेटर सहयोग स्वरुप प्राप्त भएको हो । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी) का नेपाल प्रमुख अजमत उल्लाले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डाक्टर नेत्र तिम्सिनालाई बुधबार कन्सन्ट्रेटर हस्तान्तरण गर्नुभएको थियो ।

हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै आइएफआरसीका नेपाल प्रमुख अजमत उल्लाले कोभिड महामारीको रोकथाम तथा प्रतिकार्यका लागि नेपाल रेडक्रसका स्वयंसेवक तथा कर्मचारीहरुले गरेका कार्यहरुको प्रशंसा गर्नुभयो । नेपालमा हुने विपद् तथा महमारीका समयमा आइएफआरसी सदैव सँगै रहेको बताउनुहुँदै नेपाल प्रमुख अजमतले कोभिडका बिरामीले अक्सिजनको अभावमा छटपटाउनु नपरोस् भनेर नेपाल रेडक्रस मार्फत अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको बताउनुभयो । उहाँले व्यक्तिगत सुरक्षा सामाग्रीलगायत कोभिड प्रतिकार्यका लागि अन्य सहयोग निरन्तर रहने बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. नेत्रप्रसाद तिम्सिनाले अक्सिजन कन्सन्ट्रेटर ग्रहण गर्नुहुँदै कोभिड संक्रमण दर बढी भएका ग्रामीण तथा पहाडी क्षेत्रमा तत्कालै पठाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । महामारीको पिडा कम गराउनका लागि प्राप्त सहयोग प्रति धन्यवाद व्यक्त गर्नुहुँदै नेपाल रेडक्रसका अध्यक्ष डा. तिम्सिनाले महामारीको प्रतिकार्यका लागि साझेदार सोसाइटीहरुको सहयोगमा नेपाल रेडक्रसले देशैभर काम गरिरहेको बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटीका महामन्त्री पिताम्बर अर्यालले महामारीका समयमा अक्सिजनकै अभावमा कोभिडका बिरामीले ज्यान गुमाउनु पर्ने अवस्थाको कमी गर्नका लागि साझेदार निकायको सहयोग ज्यादै नै प्रशंसनीय रहेको बताउनुभयो । नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले देशको सबैभन्दा ठूलो मानवीय सञ्जाल भएको संस्था नेपाल रेडक्रसले कोभिड महामारीको सुरुवाती अवस्था देखिनै आफ्ना स्वयंसेवक तथा कर्मचारीको सहयोगमा रोकथाम तथा प्रतिकार्यका कार्यहरु सञ्चालन गर्दै आएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.