विपक्षीको बहस आजदेखि
सरकारी वकिलको नेतृत्व महान्यायाधिवक्ता बडालले गर्दै हुनुहुन्छ

काठमाडौँ- प्रतिनिधि सभा विघटनविरुद्ध दायर मुद्दामा रिट निवेदकका तर्फबाट प्रारम्भिक बहस सकिएको छ ।
प्रारम्भिक बहसका लागि संवैधानिक इजलासले निवेदक पक्षलाई १२ घण्टाको समय दिएको थियो । सो अवधिमा निवेदक पक्षका ३६ जना कानुन व्यवसायीले बहस गर्नुभएको छ । आइतबार मात्र १६ जना कानुन व्यवसायीले बहस गर्नुभयो । अधिकांशका समय पाँच मिनेट तोकिएको थियो । सोमबारदेखि विपक्षीका तर्फबाट बहस सुरु हुनेछ । प्रारम्भमा सरकारी वकिलका तर्फबाट बहस हुनेछ ।
आइतबार निवेदक पक्षको बहस सकिएपछि सोमबारदेखि विपक्षीको बहस प्रारम्भ हुँदैछ । सरकारी वकिलका तर्फबाट मुद्दाको प्रतिरक्षा प्रारम्भ हुनेछ । सरकारी वकिल र अन्य प्रत्यार्थीका कानुन व्यवसायीका लागि इजलासले १५ घण्टा समय दिएको छ । जसमा सरकारी वकिलसँगै प्रत्यार्थी तर्फबाट निजी कानुन व्यवसायीका लागि समय लागू हुनेछ ।
यो पटक सरकारी वकिलको नेतृत्व महान्यायाधिवक्ता बडालले गर्दै हुनुहुन्छ । यस्तै पूर्वमहान्यायाधिवक्ताद्वय सुशील पन्त र अग्नि खरेलले पनि प्रधानमन्त्री ओलीका तर्फबाट बहस गर्दै हुनुहुन्छ । साथै नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेलगायतका सरकारी वकिल पनि प्रतिरक्षामा आउनुहुनेछ ।
सभामुखका तर्फबाट यो पटक पाँच जना कानुन व्यवसायीले बहस गर्ने तय भएको छ । यसअघि पनि बहस गर्नुभएका श्यामकृष्ण खरेल, लवकुमार मैनाली र श्रीकृष्ण सुवेदीले निरन्तरता पाउनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्