उपत्यकामा निषेधाज्ञा थप खुकुलो, भोलिदेखि सार्वजनिक यातायात जोर-बिजोर प्रणालीका आधारमा चल्ने
काठमाडौँ- भोलिदेखि काठमाडौँ उपत्यकाभित्र मात्र सञ्चालन हुने २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक यात्रुवाहक सवारीसाधन जोर बिजोर प्रणालीमा सञ्चालन गरिने भएको छ ।
स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै र भौतिक दूरी कायम गरी सवारीसाधन सञ्चालन गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौँद्वारा जारी विज्ञप्तिमा भनिएको छ । चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउने, सवारी साधनको ढोकामा स्यनिटाइजरको व्यवस्था हुनुपर्ने बताइएको छ ।
त्यस्तै सहचालकले पञ्जा लगाउनुपर्ने र अनिवार्य रुपमा सवारीसाधन निसङ्क्रमित गर्नुपर्नेछ । सवारीसाधन बिहान ६:०० देखि साँझ ७:०० बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ ।
निजी सवारीसाधन (कार जीप, भ्यान) मा बढीमा चार र ट्याक्सीको हकमा बढीमा तीनजना मात्रै सवार गर्न पाउने नियम छ । मोटरसाइकल/स्कुटरसमेत जोर बिजोर प्रणाली लागू (जोर गते जोर नं र बिजोर गते बिजोर नं) चलाउन पाइने छ । विवाह तथा व्रतबन्धका हकमा आफ्नो घर वा बसेको स्थानमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्ने गरी उपस्थित हुन पाइने छ । त्यस्तै यसका लागि दुई सवारीसाधन ब्यानरसहित आवतजावत गर्न दिने बताइएको छ ।
सरकारी, सार्वजनिक संस्थान, कूटनीतिक नियोग, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, कृषि मल, बीउबिजन, पशु चिकित्सकलगायत अत्यावश्यक सेवा प्रदायक सवारीसाधन निर्बाध रुपमा सञ्चालन हुन पाउनेछन् ।
तरकारी, फलफूल, खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ सामग्री, कुखुराको चल्ला र पशुपन्छीजन्य पदार्थ, भेटेरिनरीसम्बन्धी इन्धनलगायत बस्तु बिहान ९:०० देखि ११:०० र अपराह्न ४:०० देखि ७:०० बजेसम्म ढुवानी गर्न पाउने व्यवस्था मिलाइएको छ । सार्वजनिक तथा निजी निर्माणको कामका लागि निर्माण सामग्री ढुवानी बेलुका ९:०० देखि बिहान ५:०० बजेसम्म सञ्चालन गर्न पाउने व्यवस्था मिलाइएको छ । पत्रकारलाई सूचना विभाग वा मिडिया हाउसले जारी पासका आधारमा आवतजावत गर्न पाउने व्यवस्था मिलाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्