राष्ट्रिय सभा उपाध्यक्षद्वारा महिला सांसदहरुसँग छलफल

काठमाडौं– राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहालले संसद अधिवेशनको पूर्वसन्ध्यामा राष्ट्रिय सभाका महिला सदस्यहरुसँग समसामयिक विषयमा छलफल गर्नुभएको छ । राष्ट्रिय सभाको अधिवेशन सुरु हुनु दुई दिनअघि मंगलबार सिंहदरबारमा उपाध्यक्ष दहालले महिला सांसदहरुसँग छलफल गर्नुभएको हो ।

सो अवसरमा राष्ट्रिय सभा अधिवेशनको प्रभावकारिता बढाउन महिला सांसदहरुले खेल्नुपर्ने भूमिका, कोभिड–१९ को महामारीले पारेको असर, महिलामैत्री कानूनहरुको कार्यान्वयनको अवस्था र महिला सांसदहरुले गर्न सक्ने पहलकदमी लगायतका विषयमा छलफल गरिएको थियो ।

छलफलमा उपाध्यक्ष दहालले राष्ट्रिय सभा अधिवेशनलाई प्रभावकारी बनाउन महिला सांसदहरुको भूमिका महत्वपूर्ण हुने भन्दै त्यसका लागि बैठकमा महिला सांसदहरुले समसामयिक विषयसँगै महिलासँग जोडिएका मुद्दाहरु सशक्त रुपमा उठाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पूर्वउपसभामुख तथा निवर्तमान मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले महिलामैत्री कानून निर्माणसँगै कार्यान्वयनका लागि ऐन, नियमावलीहरु तीव्र रुपमा बनाइरहेको बताउनुभयो । आफू कानूनमन्त्रीको जिम्मेवारीमा रहँदा विभिन्न नियमावलीहरु निर्माण गरेर ऐन कार्यान्वयनका लागि पहलकदमी लिएको पनि बताउनुभयो ।

छलफल कार्यक्रममा महिला सांसदहरुले राजनीतिक खिचातानीबाट बाहिर निस्किएर कोभिड महामारी र त्यसबाट लामो समय लकडाउन हुँदा महिलामा परेको असर, प्राकृतिक विपदबाट सिर्जित समस्या, महिलामैत्री कानून कार्यान्वयनका लागि दबाब र निगरानी गर्नुपर्ने लगायतका विषयमा साझा मञ्च बनाएर जानुपर्नेमा जोड दिएका थिए । महिला सांसदहरुले कोभिडका साथै महिला स्वास्थ्य संवेदनशीलताको ख्याल गर्दै हरेक प्रदेशमा प्रसूति अस्पतालहरुको स्थापना गर्न सरकारलाई दबाब दिनुपर्ने बताएका थिए ।

संविधान सभाका सदस्यहरुले निकै मेहनत गरेर महिलामैत्री कानून निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा खुसी व्यक्त गर्दै सांसदहरुले महिलामैत्री कानून कार्यान्वयनको अवस्था भने निकै फितलो र कमजोर रहेको बताएका थिए । महिला पुरुषबीच हुने विभेदको अन्त्य, शिक्षा, स्वास्थ्य, रोजगारको ग्यारेन्टी लगायतका सवालमा संविधानमा राम्रो व्यवस्था गरिएको भए पनि व्यवहारमा लागू हुन नसकेको महिला सांसदहरुको भनाई थियो । अहिले पनि समान काममा महिला भएकै कारण पुरुषभन्दा कम पारिश्रमिक हुनु, पैत्रिक सम्पत्तिमा समान अधिकार नहुनु, बलात्कार, हत्या हिंसाका घटनामा महिलाहरु पीडित हुनुजस्ता घटना न्यूनीकरण नहुनु दुःखद भएको सांसदहरुको भनाइ थियो ।

छलफलमा राष्ट्रिय सभा सदस्यहरु अनिता देवकोटा, प्रमिला कुमारी, भगवती न्यौपाने, कविता बोगटी, विमला राई पौडेल, सुमित्रा बिसी, बिना पोखरेल, कोमल ओली, इन्दिरादेवी गौतम, तुलसा कुमारी दाहाल, नैनकला ओझा र शान्ति कुमारी जिसी सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.