सम्झनामा भानुभक्त
१
पुरुष एक पौरुष गर्ने तनहुँ माटोमा
नेपाली सारा पक्डेर तारा भाषाको बाटोमा
समाती भाव सरर दौडे कोसीको पानी झैं
भानुले खोले नेपाली मन आँखाको नानी भै ।।
२
नेपाली माटो उर्वर भयो भानुका कर्मले
रामको गाथा भिरेर देश उठ्दछ गर्वले
आदर्श फुल्यो भ्रातृत्व घुल्यो नेपाली मर्मले
एकता जुट्यो विखण्डन फुट्यो भानुका धर्मले ।।
३
आशक्त कवि सीताको छवि नेपाली छटामा
रामका कृति पुर्याए उनी शिवत्व सत्तामा
रणमा थियो घाँसीको प्रण भानुले चियाए
बुद्धि र सीप विवेक साँधी यो देश उध्याए ।।
४
मोतीको साथ उज्यालो ज्योति छरियो संसार
कोइली कण्ठ रामायणले फड्किन्छे जँघार
पहाड घन्क्यो तराई टल्क्यो प्रश्नोत्तर मालाले
रामको गीता बधुको शिक्षा गाउँछन् शालाले ।।
५
मनको निब चोबेर छोपे विशृङ्खल संस्कृति
झटारो हाने व्यङ्ग्यले छाने उखेल्न विकृति
कान्तिपुरका रसिला ठिटी रमिता प्रकृति
मनको दृष्टि काव्यले पुष्टि रसिला यी कति ।।
६
नेपाल आमा रहुञ्जेल भानु भानु झैं चम्कन्छन्
साहित्याकाश ढाकेर भानु हात्ती झैं लम्कन्छन्
को सक्छ टिप्न भानु प्रकाश ढाकिन्छन् सर्वत्र
बल्दिन्न शशी नभई भानु भानु छन् स्वतन्त्र ।।
७
टुक्रेको देश भाषाले जोड्ने लिएर गन्तव्य
सहेर कष्ट रामायणबाट पस्किए मन्तव्य
आदर्श गोडी कृतित्व छोड्ने महान तत्वज्ञ
अमर सदा विभूति तिमी छौँ हामी कृतज्ञ ।।
८
सम्भ्रान्त कान्त पाइन्न अन्त भानु झैँ धरामा
लेउ झैँ जमी आसन लिन्छन् मनका सरामा
जाँहुँदि रहुन् नेपाली चुँदि नसम्झी रहन्न्न
पुजिन्छन् भानु जनले पढी व्यर्थमा बहन्नन ।।
छन्द: झ्याउरे [३+२ ,३+२,३+३]
रचनाकार : गणेश प्रसाद दवाडी
ठेगाना : लेटाङ न .पा .वडा नम्बर ९ (नौ)
मोरङ , प्रदेश -१, बिहानी टोल
इमेल : dawadiganesh1@gmail.com
मोबाइल नम्बर : 9842075815/9824315487
सर्वाधिकार : रचनाकारमा
प्रतिक्रिया राख्नुहोस्