देउवा प्रधानमन्त्री नियुक्त भएको खुसीयालीमा दीप प्रज्वलन

काठमाडौँ- सर्वोच्च अदालतको फैसलाको स्वागत तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको खुशीयालीमा मङ्गलबार बेलुका बैतडीमा दीप प्रज्वलन गरिएको छ । खुसीयालीमा नेपाली कांग्रेस र माओवादी केन्द्रले संयुक्तरूपमा जिल्लाको दोगडाकेदार र पाटनमा दीप प्रज्वलन गरेका हुन् ।

नेपाल विद्यार्थी सङ्घको अगुवाइमा पाटनमा र दोगडाकेदारमा तरुण दलको अगुवाइमा दीप प्रज्वलन गरिएको हो । अदालतको फैसलाले लोकतन्त्रको रक्षा भएको भन्दै खुशीयालीमा दीप प्रज्वलन गरिएको नेपाल विद्यार्थी सङ्घ बैतडीका अध्यक्ष कपिल केसीले बताउनुभयो ।

यस्तै सुदूरपश्चिमको चेलो देशकै प्रधानमन्त्री भएको खुसीयालीमा आफूहरुले दीप प्रज्वलन गरेको नेपाल तरुण दलका जिल्ला अध्यक्ष घनश्याम भट्टले जानकारी दिनुभयो । सर्वोच्चको फैसलाले लोकतन्त्रको विजय भएको माओवादी केन्द्रका दोगडाकेदार गाउँपालिका अध्यक्ष मानसिंह ऐरीले बताउनुभयो ।

दीप प्रज्वलन कार्यक्रममा कांग्रेसका तरुण दल, नेपाल विद्यार्थी सङ्घका साथै नेकपा माओवादी केन्द्रको युवा सङ्गठन वाइसिएलका पदाधिकारीको समेत सहभागिता थियो । सर्वोच्च अदालतले सोमबार संसद् पुनःस्थापना गर्ने फैसला गरेको थियो भने प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश जारी गरेको थियो । प्रधानमन्त्रीमा देउवासहित अन्य चार मन्त्रीले मङ्गलबार साँझ नै शपथग्रहण गरिसक्नुभएको छ । देउवा पाँचौँपटक देशको प्रधानमन्त्री बन्नुभएको हो ।

यसैगरी, नेपाल तरुण दल भक्तपुरले संसद पुनर्स्थापना भएर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुनु भएकोमा हिजो साँझ दीप प्रज्वलन गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.