गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा
काठमाडौं– बालुवाटार जग्गा प्रकरणमा मुछिनुभएका पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा हुनुभएको छ ।
विशेष अदालतले गच्छदारलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गरेको अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले नेपालटीभी अनलाइनलाई जानकारी दिनुभयो । बुधबार भएको थुनछेक बहसपछि विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की र सदस्यद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले गच्छदारलाई १० लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको थियो ।
गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
विशेष अदालतको म्याद बुझ्न अस्वीकार गर्दै आउनुभएका गच्छदार बुधबार आफैं अदालतमा उपस्थित हुनुभएको थियो ।
गच्छदारले पटक–पटक उपप्रधानमन्त्रीसहित महत्त्वपूर्ण मन्त्रालयको नेतृत्व गरिसक्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्