राष्ट्रियसभाको नवौँ अधिवेशन प्रारम्भ

काठमाडौं- राष्ट्रियसभाको नवौँ अधिवेशन आजदेखि प्रारम्भ भएको छ । सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउनुभएको थियो ।

उहाँले नेपाली काँग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरिएको तथा मन्त्रिपरिषद् विस्तारसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो । बैठकमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि ज्यान उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदप्रति दुई मिनेट मौनधारण गरिएको थियो ।

अधिवेशन प्रारम्भ भएसँगै नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारीले कोभिड–१९ को सङ्क्रमण बढ्दो रहेकाले जोखिम नियन्त्रणका लागि कोभिड १९ विरुद्धको खोपको प्रभावकारी व्यवस्थापनलाई निरन्तरता दिन सरकारसमक्ष माग गर्नुभयो ।
जारी मनसुनका कारण प्राकृतिक विपद्का घटना पीडितको राहत, उद्धार तथा बास व्यवस्थापनका लागि थप प्रभावकारी काम गर्न उहाँले आग्रह गर्नुभयो ।

नेकपा (एमाले) का सुमनराज प्याकुरेलले सत्ता प्राप्तिका लागि दलीय प्रणालीलाईसमेत कमजोर पार्नेगरी सर्वोच्च अदालतको फैसलाले विधिको शासनमाथि प्रश्न चिन्ह लागेको र सुधारिएको पञ्चायती व्यवस्था लागू गर्न खोजिएको आरोप लगाउनुभयो ।
उहाँले जनमतप्राप्त गरेर आफूहरु पुनः सत्तामा जाने उल्लेख गर्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अगाडि सारेका कामलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न अवरोध गरिएको बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) राष्ट्रियसभा दलका नेता दिनानाथ शर्माले प्रतिपक्षलाई विश्वासमा लिएर सहमति र सहकार्यको संस्कृतिलाई बढावा दिई मुलुकमा व्याप्त समस्याको समाधानका लागि सबै राजनीतिक दललाई आग्रह गर्नुभयो । उहाँले संविधानको रक्षाका लागि सर्वोच्च अदालतले गत असार २८ गते गरेको फैसला दुरगामी महत्वको रहेको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.