भाग्यले होइन, कर्मले उदाएका देउवा !

“भाग्य छ भन्दैमा डोकोमा दूध दुहेर अडिँदैन”- यो हाम्रो गाउँघर र नेपाली समाजमा प्रचलित उखान हो। नेपालको राजनीतिक इतिहासमा खासगरी नेपाली कॉंग्रेस भित्र समकालीन राजनीतिक ब्यक्तिहरुकोबीच शेरबहादुर देउवालाई धेरैले भाग्यले खाएको नेताको रुपमा चर्चा गर्ने गर्दछन्।
कहिलेकाँही उहाँको बोली र ब्यबहारले पनि सोही कुरालाई प्रमाणित गरिरहेको हुन्छ। ठट्यौली शैलीमा ज्योतिष बिज्ञान र आध्यात्मिकतामाथि आफ्नो अमिट बिश्वास रहेको बोलिदिँदा मानिसहरुलाई यसको बारेमा थप लख काट्न टेवा पुर्‍याएको छ ।

जे होस्, अहिले यसको बहसमा समय खर्चिनु जरुरी छैन। देउवा भाग्यले कर्म बनाएको मानिस हुनुहुन्छ, भन्नेमा रत्तिभर बिश्वास लाग्दैन। बरु के चाहीँ हो जस्तो लाग्छ भने, उहाँ आफ्नो असल कर्मले भाग्यलाई नै परिवर्तन गर्न सफल एक कुटनीतिक चातुर्य भएको हठी मिजासका राजनेता हुनुहुन्छ भन्नेमा म अडिक छु।

मैले चिनेको देउवा र भोगेको देउवामा खासै अन्तर पाइन। छलछामरहित सिधासिधा आफुलाई लागेको बिषयमा अरुहरुले झै भूमिका नबॉंधी आफ्नो कुरा राखि हाल्ने स्वभाव उहॉंमा निहित छ। उहॉंको बोलीमा स्पष्टता: छैन। कायर फासिष्टहरुले यौवनमै उनको स्वर: आवाजको चिरहरण गरिदिएका थियो। तथापि उहाँको कर्म भने सबैले देख्नेगरी स्पष्ट नै छ। कुटिलता, जालझेल र प्रयोगको भावना खासै देखिदैन।

देउवाको राजनीतिक जीवनमा व्याप्त धैर्यता त सहनशीलताको सम्बन्धमा भोलिको पुस्ताले ज्ञान लिँदा बरु उल्टै थप फाइदा पुग्छ। उहाँको निधारमा लुकेको भाग्यलाई होइन, देखिएको कर्मलाई नै समाप्त गर्नेगरी राजनीतिक जीवनमा आएको आरोह-अबरोह साथसाथै ठुलाठुला हुण्डरीहरुको सामना गर्दै अबिचलित रुपमा राजनीतिक निष्ठा र लोकतान्त्रिक सिद्धान्त एवं आदर्शलाई आफ्नो जीवन मूल्य र मान्यता बनाई यहॉंसम्मको यात्रामा आइपुगेको तथ्यलाई उजागर गर्न बाञ्छनीय ठानेँ।

संसदीय दलमा पार्टीको नेता र प्रधानमन्त्री हुँदा कॉंग्रेसले उहाँको साधारण सदस्यता पनि खोस्यो। दलीय ब्यबस्थामा निर्दलीय प्रधानमन्त्री बनाई उहाँको राजनीतिक भविष्यलाई समाप्त पार्ने प्रपन्चको आफ्नै नेतृत्वमा पार्टी गठन गरी खरोगरी प्रतिवाद गरे। तत्कालिन राजाबाट दुई-दुई पटक कथित असक्षमताको कृपा बक्सभयो। पत्थरको पहाडमा मक्किएको कुइनो ठोक्याउन ल्याउँदा कसको हालत के भयो ? सबैको अबस्थालाई बिगतले ब्याख्या गरिसकेको छ। अरुहरुको आँखाको नजरबाट मानिसहरुप्रति हेर्ने धारणा र दृष्टिकोण बनाउने पाखण्डी चरित्रमा रमाउने हाम्रो समाजमा सत्यलाई आत्मासाथ गर्न अझैपनि केही समय भने पक्कै लाग्नेछ।

सत्यलाई अंकमाल गर्न त्यति सहज छैन। यो एक कठिन यात्रा नै हो। भगवान रामले चौध बर्ष बनाबास जानुपर्‍यो। कृष्णलाई सयकडौं सैनिकहरुको नाश हुने महाभारतको युद्ध गर्नुपर्‍यो। प्रल्हाद र ध्रुबले लामो समयसम्म तपस्या गर्नुपर्यो। दोबाटोमा बसेर लुट्दै हिड्ने रत्नाकर डॉंकु कसरी बाल्मिकी बने र संस्कृत भाषाको प्रकाण्ड बिद्वान आदिकबि भएर रामायण लेखे। सिद्धार्थ गौतमले राज सिंहासन छोडेर गयाको पिपलको बोटमुनि ध्यान गरेर, भगवान गौतम बुद्धको रुप धारण गर्नुपर्‍यो। राजा त्रिभुवनले सपरिवार छिमेकमा शरण लिनुपर्‍यो। नेलशन मण्डेला, माहात्मा गान्धी, अब्राहम लिङ्कनहरुको गाथाव्यथा पढ्दै गरौँला।
हाम्रै नेपालको युगपुरुषहरुको सन्दर्भमा पनि बिपी, गणेशमान, सुवर्ण, कृष्णप्रसाद, गिरिजाप्रसाद जस्ता नेताहरुले लगभग आफ्नो जीवनको आधा जीवन जेलको चिसो छिँडीमा कठिनाइको सामना गर्दै बिताउनुपर्‍यो। आबेगमा आएर, मनोगत भावनामा पौडी खेलेर, आफैँ भित्र रिसले जलेर, क्रोधले उफ्रिएर र घमण्डको मार्गमा यात्रा गरेर सत्य भेटिँदैन। न त स्पर्श नै गर्ने ल्याकत राख्दछन्। बिरलै मानिसहरुको असल कर्मले मात्र युग र समयले जन्माउने सत्यलाई प्राप्त गर्दछन्। यो नै ध्रुबसत्य कुरा हो।

बिशेषगरी नेपाली कॉंग्रेस भित्र सधैँ बहस र चर्चामा रहिरहने भाग्य र कर्मको सत्यलाई नेपाली राजनीतिक भाषामा अझ बुझिनेगरी ब्याख्या गर्ने हो भने, बि.सं. २०१७ सालपछि बि.सं. २०४६ सालसम्मको समयावधिलाई एउटा कालखण्ड र बि.सं. २०४७ सालदेखि आजसम्मको समयसिमालाई अर्को अध्यायको रुपमा दुई भागमा बिभाजित गर्दै शुक्ष्म अध्ययनकासाथ अगाडि बढ्नु अझ सान्दर्भिक हुनेछ, भन्ने लागेको छ।

माथि उल्लेखित कालखण्डको समयमा हुर्किएकाहरु र सोही समयसिमामा जन्मिएकाहरुको बाहुल्यता र नेतृत्व कॉंग्रेस पार्टीमा कृयाशिल छ। उनीहरु स्वयं बितेको छ दशक लामो नेपालको राजनीतिक जिवनको साक्षीहरु समेत हुन्। पछिल्लो पुस्ताले अघिल्लो पुस्तालाई नेतृत्वबाट बिस्थापन गर्न धारे हात सोझ्याउने नेपाल र नेपाली कॉंग्रेस पार्टीमा मात्र सिमित छैन। यो बिश्वब्यापी स्थापित एक मान्यता नै बनिसक्यो। स्कुले जिवनमा कथामा पढेको ‘नातिको डोको’ प्रतिको अभिलाषा र मोहले यसै बिषयलाई संकेतसहित पुष्टि गर्दछ।

नेपाली कॉंग्रेस पार्टीमा समर्पित भई कठिनाइको समयमा देश र लोकतन्त्रको पक्षमा चट्टानसरी आफुलाई प्रस्तुत गरेका केही नेताहरु, सत्ता र शक्ति स्वादमा रमाउँदा खर्लप्पै सकिएको उदाहरण पनि इतिहासमा पढेको होइन, तपाई मेरै जीवनले भोगेको कुरा हो। कतिलाई राजनीतिमा बॉंच्न दिइएन, कतिलाई बचाउँन सकिएन। कतिले लोभ र स्वार्थको पोखरीमा पौडी खेल्दा उत्रन नै सकेनन्। यसको बारेमा समयले भोलि समिक्षाहरु गर्दै जाला। तर, नेपाली कॉंग्रेसमा २०१७-२०४६ बिचको पुस्ताले गरेको निरन्तरको योगदान, जीवन मुल्य र मान्यता प्रतिको त्याग, बिचार र सिद्धान्तमाथिको समर्पण र देश र लोकतन्तप्रतिको बिश्वासले नै हाम्रो राजनीतिक यात्रा यहॉंसम्म आइपुगेकोमा कसैलाई शंका नहोला। मैले माथि नै उल्लेख गरेँ, के सबैले अग्नी परीक्षा उर्तिण नै गरे त ? किमार्थ होइन। केहीले नराम्ररी हारे। उर्तिण हुन सकेनन्। राजनीतिमा बन्न सजिलो रहेछ। बनी सकेपछि आफुले आफुलाई जोगाउँन गाह्रो रहेछ।

केहीबर्ष अघिमात्र छापामा मैले धादिङ्गका पुराना कॉंग्रेसी नेता भरत उप्रेतीको एउटा अन्तररंगको अन्तरवार्ता पढ्ने अवसर पाएको थिएँ। उहॉंले अन्तरवार्ताको क्रममा ब्यक्त गर्नभएको बिचारहरुले मलाई थप प्रेरणा मिल्यो र देउवालाई अझ पढ्ने मौका पाएँ। जेलको कडा यातनाको बिच शरीरमा फलामे भालाहरुको प्रहार र मलद्धारबाट घोच्दापनि निर्विघ्नताको साथ कुनैपनि हालतमा नझुक्दै, गोपनीयता भंग गर्न दिइएको आदेशलाई पत्थरी अडानबाट फिक्का पारिदिए। हो, यही नै लोकतन्त्रको भविष्यको चहकिलो दियोको बिजहरु रोपिएको रहेछ।

त्यसैगरी अस्तिताका मात्र देउवाको समकक्षी भनौँ या सारथी वा सिंगो राजनीतिक जीवनका प्रतिस्पर्धी आदरणीय नेता रामचन्द्र पौडेलको अन्तरवार्ता पढ्ने मौका पाएँ। उहाँले देउवा भन्दा आफु नेतृत्वको लागि थप सक्षम रहेको दाबी गर्दै जॉंदा भन्नुभयो, “मलाई होइन, शेर बहादुरलाई; बिपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाप्रसादहरुले अरु बढी पुल्पुल्याएर राखे, त्यसैले उनी, म भन्दा अगाडि पुगे ।” रामचन्द्र दाइको यो भनाइले देउवा पहिल्यै बलियो भइसकेको नेता रहेछन्। उहॉंले यही सत्यलाई आफैले प्रस्फुटन गरिदिनु भयो। सो समयको नेतृत्वमा रहनुहुने ओजस्वी ब्यक्तित्व भएका खारिएका नेताबाट नै प्रजातन्त्र प्राप्तिको कठिन लडाइँमा समकालीन नेताहरु मध्यमा देउवालाई नै अब्बल देख्नु उहाँको अबिछिन्न संघर्षरत जीवनले नै होला भन्ने अनुभूति गरेको छु।

बितेको छ दशकमा हुर्किएका र जन्मिएकाहरुले देश, लोकतन्त्र र पार्टीलाई बलियो बनाउँने गरी काम गर्दै आइरहेकोमा कुनै शंका रहेन। बि.सं. २०३६, ०४२, ०४६ र ०६३/०६४ मा हुर्केको युवापुस्ता नै सक्षम र शासहले भरिएको छ। शेरबहादुर दाइ र रामचन्द्र दाइको पुस्ताले नेपाली कॉंग्रेसमा बिश्रामको टेको पहिल्याउन खोज्दै छ। उहॉंहरु त्यसको निम्ति क्षमतावान् नेतृत्व जन्माउने प्रसव पिडाको जमर्कोमा हुनुहुन्छ भन्ने दृष्टान्तहरु बोलीमा होइन, ब्यबहारमा नै प्रमाणित गर्ने जमर्को गर्दै गरेको आभाष मिलेको छ।

देश संबिधान र लोकतन्त्रले पुनः नेपाली कॉंग्रेसलाई एउटा नयॉं जिम्मेवारी थपिदिएको छ। पाएको यो अवसरलाई देश, लोकतन्त्र र नेपाली जनताहरुको हितमा उपयोग गर्नसक्दा नेपालमा गरिबी, अशिक्षा, बेरोजगार र अज्ञानताले हार्नेछ। समग्रमा देश, लोकतन्त्र, नेपाली जनता साथै नेपाली कॉंग्रेसले जित्नेछ। बिपी कोइरालाले प्रतिपादन गर्नुभएको लोकतान्त्रिक समाजबादको यात्राले सार्थकता पाउनेछ।

तपाइँ हाम्रै घरपरिवारमा घर मुली (अभिभावक) को सम्मान जरुरी छ। पार्टीको सभापति पनि हाम्रो घर मुली जस्तै हाम्रो पार्टीको अभिभावक हुन। उनको ओझपूर्ण ब्यक्तित्वको सम्मान गर्नुको सट्टा हिजोदेखिनै अपमान गर्ने दुष्नियतरुपी परम्पराले नेपाली कॉंग्रेस पार्टीलाई कहॉं पुर्‍यायो, हामी सबैले भोगेका छौँ। यसको मतलब अहिलेको सभापतिसँग प्रतिस्पर्धा नै गर्नु हुँदैन भन्ने मेरो मनसाय होइन। प्रतिस्पर्धा त अपरिहार्य छ। तर, त्यो स्वच्छ र निष्पक्ष हुनुपर्‍यो। अर्काको फोस्रो सस्तो आलोचना र तेजोवतले तपाइँको क्षमताको अभिबृद्धि हुन्छ भन्ने ज्ञान कहिंकतैबाट पाएको भए, बुझ्नुस् तपाइँ भ्रममा हुनुहुन्छ। तपाइँ मेरो क्षमताको बिकासको लागि लगनशीलता, निरन्तरता, अध्ययन र त्याग सँगसँगै अरुहरुको असल कामको सम्मान र तारिफ गर्नसक्ने शिष्ट आचरण चाहिन्छ। यो सबैले पाएको हुदैनन्। त्यसको निम्ति बिराट छाती चाहिन्छ। सभापतिको मनमा पनि शुद्धता सहित संगठनात्मक सुदृढीकरण भएको कॉंग्रेस पार्टी र शानदार बहुमतको संसद अर्को पुस्तालाई हस्तान्तरण गर्ने गहिरो अभिलाषा होला ? के त्यो पुरा गर्न हाम्रो आपसी किंचलो र खिचातानीले संभव छ? ठ्याक्कै होइन, आजको दिनमा बृहत एकता नै कॉंग्रेसको अपरिहार्यता हो। यसमा सबैले बिबेकको प्रयोग गरौँ। मैले यस पहिले पनि पटक पटक लेखेको छु, बोलेको छु र भनेको पनि छु। अहिले पनि लेख्छु। एउटा ढुङ्गाको टुक्रा असल कालिगडले हजारौं हजार पटक प्रहार गरेको घन र छिनुको चोटको सामना गर्दै मुर्तिको रुपधारण गर्छ। अनि सोही मुर्ति चीरकालसम्म भगवानको स्वरूपमा पुजिन्छ। यो सात्वत सत्यलाई हामीहरुले रिस र आवेगमा कहिल्यै नभुलौँ।

प्रसंगलाई पुनः जोड्छु। २०७७ पुष ५ गतेको राजनीतिक घटनाक्रमले एकाएक देउवालाई नेपाली राजनीतिको केन्द्रमा ल्यायो। सुने बुझेनुसार सुनचॉंदी, हिरामोती केको किस्तीमा प्रधानमन्त्रीको पद राखेर बिभिन्न थरिका नेताहरु उहॉंकै चरणमा आए रे ! तथापि उहाँ लोभिनुभएन । सत्ताको लालचमा एक्कासी हाम फाल्नुभएन। हिजोको दिनहरुमा उहाँका नेताहरुले देखाएको आदर्शलाई आत्मासाथ गर्नुभयो, त्यागको भावना देखाउनुभयो, मोहलाई छाड्नुभयो। आफुलाई जीवनभर लाग्ने गरेको पदलोलुपताको दागलाई मेटाएर त्यसबाट अलग राख्न सफल हुनुभयो। आफ्नो ओजिलो ब्यक्तित्वलाई जोगाउनुभयो। यसले आफुलाई मात्र जोगाएन, खस्किएको नेपाली कॉंग्रेसको साखलाई माथी उचाल्यो। लोकतन्त्रको आधारस्तम्भ शक्तिपृथकिकरणको सिद्धान्तलाई पुरापुर अनुसरण गरियो। दुबैपटक सम्मानित सर्वोच्च अदालतको निर्णयलाई पर्खिबसे। सिंगो नेपाली कॉंग्रेस पार्टी र भातृसंस्थाहरुलाई स्वेच्छाचारी, एकलकाटे, अधिनायकबादी सोँच र अलोकतान्त्रिक चरित्रको केपी कदमको बिरुद्धमा खबरदारी गर्दै नेपाली जनताको माझ वडा-वडामा कॉंग्रेस पार्टीलाई पुर्‍याउनुभयो।

लोकतान्त्रिक लडाइँमा बलियो हतियार भनेको, लोकतान्त्रिक संस्कार र त्यसनुसारको आचरण अनि आवश्यक धैर्‍यता नै हो। धैर्‍यता नहुनेहरु इतिहासमा चुकेको प्रमाणहरु हाम्रै पार्टी नेपाली कॉंग्रेस भित्र प्रशस्त छ। तुलसी गिरी, सुर्यबहादुर थापा, बिश्वबन्धु थापा, परशुनारायण चौधरी, राजेश्वर देबकोटा, श्रीभद्र शर्मा लगाएतको नामहरुलाई कॉंग्रेस बृत्तमा राम्रैसँग उच्चारण गरिन्छ। अपबादबाहेक देउवा र उनको समकालीन पुस्ताले यस्ता स्वार्थहरुले जेलिएको सयौँ गौँडाहरु पारगर्दै आएको यथार्थतालाई स्मरण गर्दछु। बिधी र पद्धतिलाई अंगाल्दै गरेको असल कर्मले नै आज देउवालाई सफलताको शिखरमा पुर्‍याएको भन्ने मेरो ठम्याइ छ। बिगत र बर्तमानको हरेक कठिनताको लडाइँमा उर्तिण भएको ब्यक्तित्व कदापि भाग्यले होइन, कर्मले नै उदाएको हुन् देउवा भन्नेमा अब कुनै किसिमको भ्रम बाँकी रहेन। त्यसलाई चिरिछाडे। हिजो र आजको सत्यतथ्य घटनाक्रमहरुले यही कुरालाई प्रमाणित गरिसकेको परिप्रेक्ष्यमा नेपाली जनताको पिडाको साथमा लोकतान्त्रिक सरकार हुँदो रहेछ भन्ने अनुभूति प्रत्येक नेपालीले गर्नेगरी अझ बढी पारदर्शिता र प्रभावकारी ढंगबाट कामगर्न सरकारको ध्यानाकर्षण भने हामीहरुले गरिराखौँ।

अस्तिताका नेपालको संघीय संसद ( प्रतिनिधिसभा) मा बिश्वासको मतलिँदा उठेको प्रश्नहरुको जबाफ दिने क्रममा नेपाली कॉंग्रेसका आदरणीय सभापति एवं सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवाद्वारा ब्यक्त बिचारहरु परिपक्वतापूर्ण, जिम्मेवारपूर्ण र अत्यन्त व्यवहारिक साथै एक स्थापित राजनेताको झझल्को दिने किसिमको थियो।
सम्बोधनकै क्रममा उहॉंले आफ्नो पार्टीले सहिष्णुताको नीतिलाई अपनाएको बताउनुभयो। “नेपाली काँग्रेस बिरोधी पार्टीलाई सम्मान गर्ने पार्टी हो।” उहाँले भन्नुभयो । “प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्दा बिपक्षी दलको नेता संसदमा उपस्थित हुनुपर्छ भन्ने हाम्रो सिद्धान्त हो र संसदीय ब्यबस्था रहेको देशहरुमा यो स्थापित मान्यता नै हो।” बिगतको इतिहासको संझना गर्दै मनमोहन अधिकारीले संसदलाई सम्बोधन गर्दा आँफु दौडिएर संसद आएको स्मरण समेत गर्नुभयो र पछि बुढो मानिस मोनमोहन अधिकारीले पनि यो संस्कारलाई निरन्तर अबलम्वन गर्नुभएको तर, केपी ओलीले त्यो संस्कारको पालना कहिल्यै नगरेको कटाक्ष गर्नुभयो। राष्ट्रियताको सवालमा राष्ट्रिय स्वार्थभन्दा माथि कोही नभएको भन्दै उहाँले लिम्पियाधुरा नेपालकै भूभाग रहेकोले त्यहॉंको भाषाको लवज र ठाउँको नाम समेत धुरा-धुरा डेडेल्धुरासँग मिलेको बिषयको उठान कुटनीतिक हिसाबले गर्नुभयो।

देशमा देखिएका समस्याहरुमा राष्ट्रिय एकता कायम गर्नेतर्फ संकेत गर्दै, “हेरौँ सल्लाह गरौँ, अगाडि बढौँ, काम गरौँ, सकिने कामहरु संबिधान अनुसार नै गर्नुपर्ने हुन्छ। सबै नेपालीहरुलाई होस्, मधेश वा तराई होस्, पहाड होस् वा हिमाल होस् सबैको समस्याहरु र मुद्धाहरुलाई बिस्तारै समाधान गर्दै जाने हो। सबै जातजाती थारु मधेशी जनजाती महिला दलित पिछडिएको जातजाती र सिमान्तकृत सबैको यो साझा देश हो। मधेशमा पनि जातीहरु छन्। पहाडमा पनि जातीहरु छन्। तपाईहरुलाई पनि मधेशमा पनि बाहुन बाहुन भनेकै छन्। पहाडमा पनि हामीहरुलाई बाहुन बाहुन भनेकै छन्। हामी कहॉंको सबैभन्दा ठुलो समस्या भनेको यही जातीयताको कुरा हो। त्यस कारण जातीयता सम्बन्धी कुराहरु सबैलाई मिलाउन त यो समावेशी र समानुपातिक संबिधान बनाएको हो। जनजाती, आदीवासी, थारुहरु, मधेशी महिला भनेर। यदि सबैको सहमति हुन्छ भने मलाई केही आपत्ति छैन, बाहुन क्षेत्रीहरुको नाममा पनि सहमति गरौँ। म पनि मधेशको कुरा बुझ्छु। तपाईहरु पहाडको कुरा बुझ्नुहुन्छ। मधेशको समस्या समाधान गर्दा मधेश भित्रको समस्याहरु पनि समाधान गर्नुपर्ने होला ? पहाडको समस्या समाधान गर्दा पहाडको भित्रको पनि समस्या समाधान गर्नुपर्ने होला ? हिमालको समस्या समाधान गर्दा हिमाल भित्रको पनि समस्या समाधान गर्नुपर्ने होला ?” भन्दै शालिन तथा मर्मस्पर्शी तर्कहरु अगाडि सार्दै नेपालको राष्ट्रिय एकतामा जोड दिनुभयो।

अन्त्यमा, बाढीपहिरो (बाहढ) बाढी पहिरोमा परी मृत्यु भएका मानिसहरुलाई हार्दिक श्रद्धाञ्जली दिँदै पिडित परिवारको उद्धार, राहत तथा पुनर्स्थापनामा सरकार गम्भिरतापूर्वक लाग्ने धारणा अभिव्यक्त गर्नुभयो। सँगसँगै कोरोना कहरको महामारीबाट देशलाई मुक्त गर्नु सरकारको कर्तव्य हुनेछ भन्दै उहाँले कोरोना कहरले पुर्‍याएको आर्थिक क्षतिको सम्बन्धमा सरकारले क्षतिपूर्ति गर्नेमा जोड दिनुभएको छ । प्रधानमन्त्री देउवाले आफ्नो सरकारको भावी योजनाहरु सुनाउँदै सरकारको पहिलो प्राथमिकता खोप, दोश्रो प्राथमिकता खोप र तेश्रो प्राथमिकता पनि खोप भएको घोषणा गर्नुभयो। बिकास निर्माण आबश्यक हो तर, जनताको जिउधनभन्दा माथि बिकास हुन सक्दैन भन्दै उहाँले किञ्चित नआत्तिकन अगाडि जान सबैलाई अनुरोध गर्दा सहज अनुमान गर्न सकिन्छ कि देउवा आफ्नो उद्देश्यमा अबिचलित भई अगाडि बढ्नुहुनेछ। इतिहासले सुम्पिएको यो गहन जिम्मेवारीलाई पार गर्दै मुलुकमा स्थायी शान्ति, अमनचयन र सुशासन कायम गर्न देउवालाई सहयोग गर्ने दलहरु, नागरिक समाज, विद्वतवर्ग, उद्योग-व्यवसायी, पत्रकार मित्रहरु र सबै जनताको साथ रहोस्, यसैमा सबैको हित हुनेछ।

जय नेपाल !!

(लेखक भट्ट अमेरिकाबाट नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि हुनुहुन्छ ।)

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.