एमालेले कर्णालीका चार सांसदमाथि गरेको कारबाही सदर, पूर्वमाओवादी नेताको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौं– सर्वोच्च अदालतले कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर माओवादी नेतृत्वको सरकारलाई मत दिएका आफ्ना चार सांसदमाथि एमालेले गरेको कारबाही सदर गरेको छ ।
सर्वोच्चको आदेशसँगै कर्णालीमा एमालेका प्रदेश सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाको पद गएको छ ।
एमाले कारबाहीपछि पद गुमाएका चार जनालाई सर्वोच्चले अन्तरिम आदेशबाट पुनर्बहाली गरिदिएको थियो ।
सर्वोच्च अदालतले आफू आबद्ध संसदीय दलको निर्णयविपरीत फ्लोर क्रस गर्नु लोकतान्त्रिक पद्धति एवम् संस्कार र मान्यता अनुकूल नभएको समेत जनाएको छ ।
यसैबीच सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका चार नेताले आफ्नो सांसद पद जोगाइपाउँ भनी दिएको रिटमा कारण देखाउ आदेश जारी गरेन ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले प्रभु साह, टोपबहादुर रायमाझी, गौरी शंकर चौधरी र लेखराज भट्टको पक्षमा अन्तरिम आदेश दिएन ।
प्रतिक्रिया राख्नुहोस्