साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल

पाल्पा- कोभिड-१९ को दोस्रो लहरअघि दैनिक १०० को हाराहारीमा बन्जी गर्न पर्यटक पुग्ने कुश्मा–बागलङको बन्जी पुल कोरोनाका कारण पुनः बन्द भएको थियो । अहिले स्वास्थ्य मापदण्ड अपनाएर पुनः शुरु गरिएको छ ।

पहिलो लहरका कारण सञ्चालनमा ढिलाइ भएको पर्वतको कुश्मा र बागलुङ जोड्ने गरी कालीगण्डकीको खोँचमा निर्माण भएको बन्जी र स्विङ कोरोना कहरले बढी प्रभावित भएको छ ।

विसं २०७७ कात्तिक १५ देखि सञ्चालनमा आएको बन्जी केही समयमै कोरोनाका कारण बन्द भएको थियो । कोरोनाको दोस्रो लहरअघि पर्यटकले भरिभराउ भइरहेको समयमा पुनः बन्द हुन पुगेको बन्जी र स्विङ पुल अहिले फेरि साहसिक पर्यटकको पखाइमा छ ।

झण्डै रु २० करोडको लगानीमा सञ्चालनमा आएको बन्जी निषेधाज्ञा खुकुलो भएसँगै पुनः सञ्चालनमा आएको बन्जी र स्विङ सञ्चालन गर्ने द क्लिफ प्रालिले जनाएको छ । दोस्रो लहरपछि बन्द भएको उक्त साहसिक परियोजना निषेधाज्ञा खुकुलो भएसँगै स्वास्थ्य मापदण्ड अपनाएर एक हप्तादेखि सञ्चालनमा आएको द क्लिफ प्रालिका अध्यक्ष राजु कार्कीले जानकारी दिनुभयो ।

द क्लिफ प्रालिअन्तर्गत बन्जी, स्विङ, स्काई साइक्लिङ र बागलुङ नगरपलिका–१४ नारायणस्थानमा द क्लिफ रिसोर्टसमेत सञ्चालनमा छ । निषेधाज्ञामा स्काई चियर, प्रार्थना हात लगायतमा अन्य संरचना थपिएका छन् । उक्त संरचना बागलुङको बलेवामा छन् ।

अहिले २०-२५ जना पुल र रिसोर्ट अवलोकन गर्ने र आठ-दस जनाले बन्जी र स्विङ गर्न थालेका छन् । स्वास्थ्य मापदण्ड अपनाएर एक हप्तादेखि शुरु गरिएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । पचास प्रतिशत बाह्य पर्यटकको अपेक्षा गरेको बन्जी र स्विङमा अहिले आन्तरिक पर्यटक मात्र छिटफुट आउन थालेको जनाइएको छ ।

कालीगण्डकीको खोँचमा पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुल बनाएर बन्जी, स्विङ र स्काई साइक्लिङलगायत सहासिक खेल पर्यटकको प्रमुख आकर्षण बन्दै गए पनि कोरोनाका कारण पहिलो गाँसमै ढुङ्गा जस्तो भएको छ ।

विसं २०७३ देखि पुलको निर्माण शुरु गरिएको थियो भने पुलसँगै रिसोर्टको निर्माण २०७६ मा सकिएको थियो । पाँच सय २५ मिटर लामो झोलुङ्गे पुलको बीचमा कालीगण्डकी नदीको ठीक माथि बन्जी र स्विङका लागि जम्प गर्ने प्लाटफर्म छ ।

खोलादेखि पुलको उचाइ २२८ मिटर छ । कम्पनीले विश्वकै दोस्रो अग्लो बन्जी र विश्वकै अग्लो स्विङ भएको दाबी गर्दै आएको छ । नेपालका अन्य स्थानभन्दा अग्लो र फरक भौगोलिक वातावरणका कारण यहाँको बन्जी र स्विङप्रति धेरैको आकर्षण छ ।

बन्जी र स्विङ दुवैको मूल्य रु सात हजार तोकिएको छ भने जोडी स्विङको रु १२ हजार शुल्क तोकिएको छ । प्रालिको अर्को आकर्षण गुलेली पिङसमेत छ । कालीगण्डकी खोँचको स्काई साइक्लिङ २२८ मिटर अग्लो रहेको प्रालिको भनाइ छ । प्रालिमा कार्कीसहित अन्य पाँच जनाको लगानी छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.