पहिरो खसेर बेनी-जोमसोम सडकखण्ड फेरि बन्द

म्याग्दी- लगातार परेको वर्षाका कारण पहिरो खसेपछि बेनी–जोमसोम सडकखण्ड फेरि बन्द भएको छ । हिमालपारीको जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकको विभिन्न चार ठाउँमा पहिरो खसेर सोमबार बिहानैदेखि सडक बन्द भएको हो ।

सडकखण्ड अन्तर्गत उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानास्थित काभ्रे भीर, रुप्सेखोला, तितर र गुईँठेमा पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । सडकभन्दा माथिबाट खसेको ढुङ्गा, माटोसहितको पहिरोले पुर्‍याएको अवरोधलाई हटाएर सडक खुलाउन आवश्यक पहल भैरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले बताउनुभयो ।

पहिरो खसेपछि मुस्ताङ जिल्लाका लागि खाद्यान्न तथा निर्माणका सामग्री लिएर छुटेका मालवाहक सवारीसाधनहरु म्याग्दीको अन्नपूर्ण ३ दानामै रोकिएका छन् ।

मुस्ताङको तल्लो भेग थासाङ गाउँपालिका र म्याग्दीको उत्तरी भेग अन्नपूर्ण गाउँपालिकामा वर्षाले गर्दा ठाउँ ठाउँमा निरन्तर पहिरो झर्ने गरेकाले नियमित रुपमा सीधा सवारी सञ्चालनमा सास्ती हुने गरेको छ ।

कोरोना संक्रमणको जोखिम बढेपछि गएको बैशाख महिनादेखि जोमसोम–पोखरा हवाई उडान सेवा पनि बन्द भएको छ ।

मुस्ताङ जाने एउटा मात्रै सडकमार्ग बेनी–जोमसोम सडक समेत वर्षाले पटकपटक अवरुद्ध हुँदा मुस्ताङबाट बिरामीलाई थप उपचारका लागि बाहिर पठाउनुपर्ने बाध्यताले कठिनाई हुँदै आएको छ । मुस्ताङमा अत्यावश्यकबाहेक सार्वजनिक सवारीसाधनलाई जिल्ला प्रवेश र बाहिर जानका लागि रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कुल ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकखण्डको बेनी–गलेश्वरको जलेश्वर खण्ड, रघुगंगा १ बेगखोला, रघुगंगा ३ राहुघाट, अन्नपूर्ण २ नैनीबगर, अन्नपूर्ण ३ दानास्थित गुईँठे, जलथले, रुप्सेखोला र कोभ्रेभीर खण्ड वर्षात्को समयमा पहिरो खसेर हिलाम्मे हुनुका साथै लामो समयसम्म अवरुद्ध हुँदै आइरहेको छ । यी ठाउँहरु पहिरोको उच्च जोखिममा पर्दछन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.