शीर्ष नेताबीच क्रियाशील सदस्यता विवाद चाँडै मिलाउने सहमति
काठमाडौं– नेपाली कांग्रेस पार्टीको क्रियाशील सदस्य विवाद चाँडै मिलाउने सहमती शीर्ष नेताबीच भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला लगायत शीर्ष नेताहरुको बैठकले क्रियाशील सदस्यता सम्बन्धी विवाद तीन दिनभित्र निरुपण गर्ने सहमति भएको हो । क्रियाशील सदस्यता छानविन समितिका सदस्य रमेश लेखकले क्रियाशील सदस्यतामा देखिएका समस्या समाधान गर्न शीर्ष नेताहरूको बैठक सकारात्मकरुपमा अघि बढेको र विवाद छिट्टै निरुपण हुने विश्वास व्यक्तभयो ।
क्रियाशील सदस्यतामा देखिएका समस्या समाधान भएपछि प्रभावित स्थानीय तहको नयाँ कार्यतालिका सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो । पार्टी समायोजनका कारण बारा, सप्तरी, सिन्धुपाल्चोक, रसुवा, काभ्रेपलाञ्चोक, धनुषा, सर्लाहीलगायत जिल्लाका केही क्षेत्र र वडाको क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी छ ।
कांग्रेसले १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिका तय गरेको छ । यसअघिको कार्यतालिका अनुसार गाउँरनगर वडा अधिवेशन यही साउन १२ गते, गाउँरनगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते तोकिएको थियो । तर क्रियाशील सदस्यताको विवाद भएपछि यी तालिकाहरु प्रभावित भइसकेको छ ।
यसैबीच प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ ।






प्रतिक्रिया राख्नुहोस्