१५ प्रतिशत नागरिकलाई कोभिडविरुद्धको पहिलो मात्राको खोप : स्वास्थ्य राज्यमन्त्री

सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोपको सुनिश्चितता गर्न सांसदहरुको माग

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले हालसम्म कूल जनसङ्ख्याको १५ दशमलव पाँच प्रतिशतले कोभिडविरुद्ध पहिलो मात्राको खोप लगाइसकेको जानकारी दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वका विषयमा जानकारी दिँदै हालसम्म २८ लाख ८८ हजार ३६० नागरिकले उक्त मात्राको खोप लगाइसकेको जानकारी दिनुभएको हो । कोभिडविरुद्ध दीर्घकालीन र अल्पकालीन योजना सदनमा प्रस्तुत गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

राज्यमन्त्री श्रेष्ठले लामो समयदेखि भौतिकरूपमा बन्द पठनपाठनलाई सञ्चालन गर्न २० वर्ष उमेरमाथिका विद्यार्थीलाई खोप लगाउने कार्यक्रम तय गरिएको बताउनुभयो । उहाँले थप तीन करोडभन्दा बढी खोप किन्ने प्रक्रियामा रहेको र असोज मसान्तसम्म एक करोड आपूर्ति हुने बताउनुभयो ।

उहाँले कोभिड सुरु भएदेखि अस्पताल जान धक मान्ने भएकाले कोभिड नभएका अन्य विरामीको सुरक्षित उपचारको व्यवस्था मिलाइएको र भेन्टिलेटर तथा अक्सिजन थप गरिएको बताउनुभयो । उहाँले खोप व्यवस्थापन गर्दै ठूला सहरमा खोप दिने तयारी रहेको र विश्वविद्यालयका विद्यार्थीलाई खोप दिन लागिएको छ । गाउँ र नगरस्तरीय खोप व्यवस्थापनका लागि स्वयंसेवक परिचालन गरिने जानकारी दिनुभयो ।

सांसद्को प्रश्न– ‘सबै नागरिकलाई खोप कहिले ?’
सांसदहरुले सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोपको सुनिश्चितता गर्न सरकारसमक्ष माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सार्वजनिक महत्वमाथि दिनुभएको वक्तव्यमाथि प्रश्न गर्दै सांसदहरुले खोप केन्द्रमा हुने भीडभाड व्यवस्थापन गरी सहजरूपमा सेवा लिने वातावरण बनाउन आग्रह गर्नुभयो ।

सांसद दिव्यमणि राजभण्डारीले परीक्षणको दायरा बढाउनुपर्ने बताउँदै कोरोनाविरुद्ध लड्न नेपाली कांग्रेसले प्रतिपक्षमा रहँदा उठाएको सर्वदलीय संयन्त्र बनाउने कुराको प्रगतिका बारेमा प्रश्न उठाउनुभयो । सांसद शेरबहादुर तामाङले एक महिना पहिले र अहिले तथ्याङ्क केही फरक नभएको बताउनुभयो । सरकारले मेलम्ची क्षेत्रमा बाढी, पहिरो प्रभावित क्षेत्रमा नागरिकले शतप्रतिशत खोप दिने भने पनि नागरिकले नपाएको उल्लेख गर्नुभयो ।

सांसद विमला विकले श्रमिक वर्गलाई खोप दिइनुपर्ने बताउँदै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले भन्नुभयो– निजी क्षेत्रसँग सहकार्यमा कुन–कुन विषय समावेश हुन्छ भनी जिज्ञासा राख्नुभयो । सांसद् डिला सङ्ग्रौलाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एक करोड मात्रा खोप ल्याएको भन्नुभएको भन्दै त्यसको भण्डारणको अवस्था के छ भन्दै प्रश्न गर्नुभयो । सांसद सरीता न्यौपानेले कोभिड परीक्षणको गलत रिपोर्ट दिनेलाई कारबाही हुनुपर्ने बताउनुभयो ।

सांसद गगनकुमार थापाले कोभिडका कारण परीक्षा रोकिएको तर परीक्षार्थीले कहिले खोप पाउने भन्ने निश्चित नभएको उहाँको भनाइ छ । जिल्ला प्रशासन कार्यालयले साँझ ८ बजेपछि आवागमन रोकेको भन्दै उहाँले त्यससम्बन्धी अध्ययनको आधारका बारेमा प्रश्न गर्नुभएको छ ।

सांसद रामकुमारी झाँक्रीले ज्येष्ठ नागरिकले दोस्रो मात्रा खोप पाउनुपर्ने र विदेश जानका लागि खोप लगाउन नागरिकले लाममा बस्नुपर्ने बाध्यता हटाएर त्यसलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो । सांसद बिन्दा पाण्डेले कोभिड सङ्क्रमणका कारण मानसिक समस्या र हिंसा बढेको उल्लेख गर्नुभयो ।

सांसद कृष्णकुमार राईले आफ्नो क्षेत्रमा मःम पसलमा खोप पाइएको बताउनुभयो । सांसद निरुदेवी पालले तेस्रो लहरमा बालबालिकालाई जोखिम बढी भएको तर त्यस क्षेत्रमा विशेषज्ञ कम रहेकाले त्यसको तयारीका बारेमा जिज्ञासा राख्नुभयो ।

सांसद मीनबहादुर विश्वकर्माले दीर्घरोगीलाई दिइने मासिक भत्ताका बारेमा प्रश्न राख्नुभयो । सांसद राजेन्द्रकुमार केसीले पूर्वप्रधानमन्त्रीले आइसकेको भन्नुभएको खोपको सङ्ख्या र अहिले सरकारले प्रस्तुत तथ्याङ्कमा फरक पाइएको उल्लेख गर्नुभयो ।

सांसद महेश्वरजङ्ग गहतराजले हिमाली र पहाडी क्षेत्रमा भण्डारणको समस्या देखिएकाले त्यसमा मन्त्रालयले ध्यान दिनुपर्ने बताउनुभयो । सांसद धर्मशिला चापागाईँले मन्त्रालयले विज्ञ राखेर प्राविधक टोली बनाएर सङ्क्रमणविरुद्ध लड्न तयारी गर्नुपर्ने उल्लेख गर्नुभयो । सांसद प्रकाश रसाइलीले कर्णाली र सुदूरपश्चिमका अस्पताल जीर्ण भएकाले पूर्वाधारको तयारी आवश्यक रहेको औँल्याउनुभयो । सांसद् रामबहादुर विष्टले सरकारले चाँडै सबै नागरिकले खोप लगाउने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद पुष्पा भुसालले अहिले तेस्रो लहरको चुनौतीसँगै गर्मीयाममा अरु रोग बढिरहेकाले त्यसको नियन्त्रणमा ध्यान दिन आवश्यक रहेको औँल्याउनुभयो । सांसद गङ्गा चौधरी, उमा रेग्मी र प्रेम सुवालले खोप लगाउने स्थानमा रहेको भीडभाडको व्यवस्थापन हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.