पाँच करोड ३० लाख मात्रा खोप सुनिश्चित

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाविरुद्धको खोप आपूर्ति र खोप लगाउने कार्य सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ ।प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्यसमितिको आजको बैठकमा उहाँले दैनिक तीन लाख व्यक्तिले कोरोनाविरुद्धको खोप लगाइरहेको जानकारी दिनुभयो । “खोप लगाउने कार्य तीब्र जारी छ , दैनिक पाँच लाखलाई खोप लगाउने योजना छ”, उहाँले भन्नुभयो । हालसम्म कोरोनाविरुद्ध ९० लाख ७७३ मात्रा लगाइसकेको उहाँले जानकारी दिनुभयो ।

“हालसम्म ४० लाख १३ हजार ८८० जना (१३ प्रतिशत)ले खोपको पूरा मात्रा लगाएका छन्”, उहाँले भन्नुभयो, “खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या १८ प्रतिशत तथा दोस्रो मात्रा लगाउनेको सङ्ख्या ३० प्रतिशते छ ।” वर्तमान सरकारले कोरोना विरुद्धका पाँच करोड ३० लाख मात्रा खोपको सुनिश्चितता गरिसकेको सो अवसरमा उहाँले जानकारी दिनुभयो ।

सरकारले दुर्गम र विकट जिल्लालाई खोप लगाउनका लागि प्राथमिकतामा राखेको उहाँले बताउनुभयो । “थोरै जनसङ्ख्या तथा उपचार गर्न कठिनाइ हुने हुँदा पहिला दुर्गम जिल्लाका बासिन्दालाई खोप लगाइसक्छौँ”, उहाँले भन्नुभयो । जापानले उपलब्ध गराएको पाँच लाखभन्दा बढी डोज खोप मौज्दात रहेकाले त्यसलाई विद्यार्थीका लागि छुट्टयाएर हाल लगाउने काम जारी रहेको राज्यमन्त्री श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौ उपत्यकामा ६० हजार विद्यार्थीलाई लगाउने लक्ष्य मध्ये हालसम्म २३ हजारले लगाइसकेका छन् ।

प्रदेश १ र प्रदेश २ मा खोप पर्याप्त मात्रामा पठाइएको राज्यमन्त्री श्रेष्ठले बताउनुभयो । अन्य प्रदेशमा समेत खोप पठाउने कार्य भइरहेको उहाँले उल्लेख गर्नुभयो ।

विगतमा रकम तिरिसकेको १० लाख डोज खोप आपूर्ति गर्ने सम्बन्धमा यहाँस्थित भारतीय राजदूतसित छलफल भएको राज्यमन्त्री श्रेष्ठले जानकारी दिनुभयो । “भारतबाट खोप चाँडै आपूर्ति हुन्छ, अब त्यसमा बिलम्ब हुँदैन्”, उहाँले भन्नुभयो । अठार वर्षभन्दा कम उमेर भएकाका लागि मोडर्ना र फाइजरको खोप आपूर्तिको पहल भइरहेको उहाँले बताउनुभयो । कक्षा १२ को परीक्षा यही भदौ अन्तिम वा असोज पहिलो साता गर्ने योजना रहेको उहाँको भनाइ थियो । “होम सेन्टरबाटै परीक्षा सञ्चालन गर्ने योजना छ”, उहाँले भन्नुभयो ।

हाल काठमाडाँैँ उपत्यकामा १३५ खोप केन्द्रमार्फत खोप लगाउने कार्य भइरहेको उहाँले बताउनुभयो । शिक्षा र स्वास्थ्यमा जनशक्ति अभाव भएकाले काम समयमै गर्न नसकिएको भन्दै राज्यमन्त्री श्रेष्ठले चाँडै नै कर्मचारीको व्यवस्था गरी द्रुतगतिमा काम अघि बढाइने समितिलाई जानकारी गराउनुभयो । न्यून कर्मचारीका भरमा योजना बनाए अनुसारको काम गर्न नसकिएको उहाँको भनाइ थियो । प्रदेश अस्पताल र काठमाडौँ उपत्यकाका अस्पताललाई साधनस्रोत सम्पन्न बनाइने उहाँले बताउनुभयो । “स्वास्थ्य क्षेत्रमा व्यापक सुधारको आवश्यकता छ”, उहाँले भन्नुभयो ।

समितिका सभापति जयपुरी घर्तीको अध्यक्षतामा बसेको बैठकमा समितिका सदस्य अञ्जना विशङ्खे, विद्या भट्टराई, गिरिराजमणि पोखरेल, जीवनराम श्रेष्ठ, सरिता न्यौपाने, मानबहादुर विश्वकर्मालगायतले राज्यमन्त्री श्रेष्ठसँग कोरोनाविरुद्धको खोप सम्बन्धी विभिन्न जिज्ञासा राख्नुका साथै आ–आफ्नो सुझावसमेत दिनुभएको थियो । सभापति घर्तीले विद्यार्थीको जाँच समयमै गर्न तथा उनीहरुलाई चाँडोभन्दा चाँडो खोप लगाउन सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.