मालपोत कार्यालयहरुको सेवा प्रवाहमा सुधार ल्याउन सचिव पाण्डेको निर्देशन

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेले भूमिसुधार÷मालपोत कार्यालयहरुको सेवा प्रवाहमा सुधार ल्याउनका लागि आवश्यक दीर्घकालिन योजना बनाउन निर्देशन दिनुभएको छ । उहाँले अझै पनि केही कार्यालयहरुमा सानासाना कोठाबाट सेवा प्रवाह गर्ने स्थिति रहेको र पोका पुन्तुरा देखिने गरेकोले भौतिक पूर्वाधार सुधारका लागि पनि दीर्घकालीन योजना बनाउन निर्देशन दिनुभयो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको आयोजनामा काभ्रेको धुलिखेलमा शुक्रबार र शनिबार दुई दिनसम्म सञ्चालन भएको बागमती प्रदेश स्तरीय वार्षिक प्रगति समीक्षा तथा अन्तरक्रिया कार्यक्रममा सचिव पाण्डेले मान्छेलाई सन्तान भन्दा सम्पत्ति प्यारो हुने भएकाले जग्गा प्रशासनका क्षेत्रमा काम गर्ने कर्मचारी अत्यन्त संवेदनशील हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेलल भूमि प्रशासन सुधार आयोजना बनाएर जग्गा प्रशासनमा थप सुधार गर्ने विभागको तयारी रहेको बताउनुभयो । पौडेलले अब जग्गा प्रशासनका काम सूचना प्रविधिको प्रयोग गरेर मात्र गर्ने वातावरण बनाउन कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभयो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव टोलराज उपाध्यायले जग्गा प्रशासनसँग सम्बन्धित छरिएर रहेका कानूनलाई एकमुष्ट गरी अभिलेखिकरण गर्नु पर्ने र परिपत्र आवश्यकता रहेको बताउनुभयो । मन्त्रालयका अर्का उपसचिव रामकुमार सापकोटाले सरकारका तर्फबाट जग्गा प्रशासनका क्षेत्रमा सञ्चालनमा ल्याएका सूचना प्रविधिमा आधारित कार्यक्रमलाई सेवाग्राहीलाई जानकारी गराउन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा विभागका निर्देशक रोशनशङ्कर घिमिरे, गुरुदत्त सुवेदी, सुमना अर्याल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बागमती प्रदेशका भूमिसुधार/मालपोत कार्यालयहरुका प्रमुखहरुले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बागमती प्रदेशमा भूमिसुधार/मालपोत गरेर २३ वटा कार्यालय रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.