कोरोना सङ्क्रमित घटेपछि हलेसी मन्दिर खुलाइयो

खोटाङ- चार महिनादेखि बन्द गरिएको हलेसी मन्दिर खुला गरिएको छ । जिल्लामा कोभिड-१९ को सङ्क्रमणदर घट्दै गएको तथा सक्रिय सङ्क्रमितको सङ्ख्यासमेत न्यून रहेको पाइएपछि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसीसिएमसी)को बैठकले मन्दिर खुला गराउने निर्णय गरेको थियो ।

गत वैशाख १५ गतेदेखि बन्द मन्दिर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर पूजाआजा गर्न मिल्ने गरी खुला गरिएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समरबहादुर भुजेलले जानकारी दिनुभयो ।

महामारी फैलिन थालेसँगै दैनिक बिहान र बेलुका हुँदै आएको नित्य पूजालाई मात्र निरन्तरता दिने गरी बन्द गरिएको थियो । बिहान र बेलुकाको नित्य पूजाका क्रममा पुजारी र बाजा बजाउने नगर्चीलाई मात्र हलेसी मन्दिर प्रवेश गर्न अनुमति दिइएको थियो ।

ताला लगाएका अवस्थामा हलेसी दर्शनमा आएका दर्शनार्थी एवं तीर्थयात्रीले ढोका बाहिरबाटै दर्शन र पूजाआजा गर्ने व्यवस्था मिलाइएको थियो । कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा सहयोग पुर्‍याउने उद्देश्यले हलेसी प्रवेशमा रोक लगाइएको यो दोस्रोपटक भएको हलेसी विकास समितिले जनाएको छ ।

हलेसीसँगै जिल्लाका सबै मठमन्दिर, शक्तिपीठ, मस्जिद, गुम्बा र चर्चलगायतमा दैनिकरूपमा गरिने नित्य÷नैनित्य पूजा, प्रार्थनासहित पूजा, प्रार्थना, भजनकीर्तन, कलशयात्रा, बलिपूजाजस्ता धार्मिक कार्य खुला गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिनुभयो ।

दश स्थानीय तह रहेको जिल्लामा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५५ मात्र रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिनुभयो । गत वैशाखयता दोस्रो भेरियन्टसहितको कोरोना सङ्क्रमण दुई हजार ९२६ मा देखिएको जिल्लामा १५ जनाको निधन भएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.