बागमती प्रदेशको मुख्यमन्त्रीमा पाण्डेको दाबी

हेटौंडा– बागमती प्रदेशमा नेकपा समाजवादीका प्रदेश संसदीय दलका नेता राजेन्द्र प्रसाद पाण्डेले मुख्यमन्त्री पदका लागि दाबी प्रस्तुत गर्नुभएको छ ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा पाण्डेले दावी पेस गर्नु भएको हो । प्रदेश सभाका १०९ सदस्यमध्ये बहुमत सदस्य पुग्ने गरी ५९ सदस्यको समर्थन सहित पाण्डेले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष आजै साँझ मुख्यमन्त्री पदको दावी प्रश्तुत गर्नुभएको हो ।

प्रदेश प्रमुख शर्माले मुख्यमन्त्री शाक्यको राजीनामा स्वीकृत गर्दै बिहीबार अपरान्ह ३ बजेसम्म मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गर्नुभएको थियो । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभाको सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका लागि प्रदेश प्रमुख शर्माले बहुमत हस्ताक्षरसहितको दाबी गर्न आह्वान गर्नुभएको छ । पाण्डेको समर्थनमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने चारवटा राजनीति दलका सांसदहरुले समर्थनको हस्ताक्षर गरेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

भदौ २ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएकी नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले प्रदेश सभामा आफू अल्पमतमा परेपछि राजीनामा दिनुभएको हो । विश्वासको मतसम्बन्धी प्रस्तावमा आज मतदान हुने कार्यसूची रहेपनि राजीनामा गरेपछि मतदान गर्नुनपर्ने भएको हो ।

नेकपा एमाले टुक्रिएर बनेको नेकपा एकीकृत समाजवादीका सांसदहरुले शाक्यलाई समर्थन नदिएपछि बहुमतमा रहेको शाक्यको सरकार अल्पमतमा परेको हो । नेपालकै पहिलो महिला मुख्यमन्त्री रहनुभएकी शाक्यले मुख्यमन्त्रीका रुपमा ७१ दिन कार्य गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.