प्रधानमन्त्री दोहा हुँदै लन्डन प्रस्थान

दोहा– प्रधानमन्त्री शेरबहादुर देउवा कतारको राजधानी दोहा हुँदै लन्डन प्रस्थान गर्नुभएको छ ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन शुक्रबार बेलायतका लागि प्रस्थान गर्नुभएका प्रधानमन्त्री देउवा दोहामा ट्रान्जिटमा रोकिनुभएको थियो ।

दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवा र प्रतिनिधिमण्डलका सदस्यहरुलाई नेपालका लागि कतारका कार्यवाहक राजदूत लक्ष्मण खनाल, कतारी परराष्ट्र मन्त्रालयका शिष्टाचार अधिकारी र नेपाली दूतावासका अन्य वरिष्ठ अधिकृतहरुले स्वागत गर्नुभएको थियो ।

स्थानीय समय अनुसार दिउँसो १ बजे आएको प्रधानमन्त्री नेतृत्वको टोली दिउँसो ३:१० मा लन्डन प्रस्थान गरेको हो ।

यही नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) पक्षको २६औँ सम्मेलनको वर्ल्ड लिडर समिटमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा त्यसतर्फ प्रस्थान गर्नुभएको हो । पछिल्लो पटक प्रधानमन्त्री नियुक्त भएपछि उहाँको यो पहिलो विदेश भ्रमण हो ।

प्रधानमन्त्री देउवा यसपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै सलामी सहितको औपचारिक कार्यक्रम बिना नै प्रस्थान गर्नुभएको हो । विमानस्थलको विशिष्ट कक्षमा गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री डा.नारायण खड्का, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, संस्कृति पर्यटन तथा नागरिक उड्‍डयमन्त्री प्रेमबहादुर आले लगायत मन्त्री तथा उच्चपदस्थ अधिकारीहरुले बिदाइ गर्नुभएको थियो ।

भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले अक्टोबर ३० मा नेपालका लागि सर्वदलीय संसदीय समूह र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गर्न लागेको स्वागत कार्यक्रममा सहभागी भई सम्बोधन गर्नुहुने कार्यक्रम छ । प्रधानमन्त्री त्यहाँ रहँदा उहाँसँग बेलायत–नेपाल समाजका प्रतिनिधि, गैरआवासीय नेपाली सङ्घ र बेलायतमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिले भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अक्टोबर ३१ गते प्रधानमन्त्री देउवाको सम्मानमा लण्डनस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनुहुनेछ । उहाँले भूतपूर्व गोर्खा सङ्गठनका प्रतिनिधि, बेलायती संसद्का सदस्य र अन्य नेपाली प्रवासी सदस्यसँग भेटघाट गर्नुहुने कार्यक्रम छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.