मोरङ कारागारका कैदीबीच झडप, छ जना घाइते

कैदीले चौकिदार र नाइकेलाई जेलभित्रै थुनिदिए

विराटनगर- मोरङ कारागारका कैदीबन्दीहरु कारागारका चौकिदार र नाइके विरुद्ध आन्दोलित भएका छन् । उनीहरुले मङ्गलबार बिहान चौकीदार किरण गुरुङसहित १४ जनालाई जेलभित्रकै एउटा कोठामा थुनिदिएर आनदोलन गरेका हुन् । त्यसअघि चौकिदार समूह र अन्य कैदीबन्दीबीच विवाद हुँदा केहीबेर झडप भएको थियो । झडपमाा परी चौकिदार गुरुङसहित उनका समूहका ६ जना नाइके र भाइनाइकेहरु घाइते भएको कारागार प्रशासनले जानकारी दिएको छ ।

कारागारभित्र चौकिदार किरण गुरुङले अनावश्यकरुपमा कैदीबन्दीहरुलाई यातना दिने, आर्थिक शोषण गर्ने जस्ता काम बढ्दै गएपछि विरोध गर्नुपरेको कैदीबन्दीहरुले बताएका छन् ।

गुरूङको निर्देशनमा नाइके र भाइ नाइकेहरूले यताना दिएको भन्दै यहाँका कैदीबन्दीहरू मङ्गलबार बिहानै आक्रोशित भई आन्दोलनमा उत्रिएका थिए । त्यस क्रममा दुई पक्षबीच झडप भएको र झडपमा नाइकेहरु घाइते भएपछि सबै एउटा कोठामा पसेपछि उनीहरुको कोठाको ढोका बन्द गरेर कैदीबन्दीले प्रदर्शन गरेका थिए ।

चौकीदार गुरूङ, नाइके र भाइ नाइकेहरूको अत्यचार सहन नसकेपछि पदमकुमार लिम्बू, निर्मल ढकाल, रामकुमार राई, रमेश मण्डल, किरण गुरुङ, शेखर राई, विशाल मुक्ताङ, डिल्ली देवान, रोशन दाहाल, सूर्यदीप गुप्ता, कपिल साह, एलएस नेपाली, राजु राई, बविहाङ राईलाई यहाँका अन्य कैदीबन्दीले एउटा कोठामा थुनिदिएका थिए ।

काराागारभित्र दुई पक्षबीच दोहोरो झडप हुँदा छ जना कैदीबन्दी घाइते भएको निमित्त जेलर रामप्रसाद पोखरेलले जानकारी दिनुभयो । घटनामा चौकिदार किरण गुरुङ र नाइकेहरु शेखर राई, निर्मल ढकाल, विशाल मुक्ताङ, डिल्ली देवान र सूर्यदीप गुप्ता रहेको उहाँले जानकारी दिनुभयो । घाइतेहरु सबैलाई उपचारका लागि कोसी अस्पताल विराटनगर लगिएको उहाँले बताउनुभयो ।

थुनिएका कैदीहरुलाई प्रहरीले कारागारबाट बाहिर निकालेर सुरक्षाका लागि राखेको छ । उनीहरुलाई कारागारबाट बाहिर निकालेपछि आन्दोलित कैदीबन्दीहरु शान्त भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.