सर्वोच्चको मुल गेटमा झडप

सर्वोच्च अदालतको मूल गेटमा कानुन व्यवसायीको धर्ना

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा पक्षका कानुन व्यवसायी र आन्दोलनरत कानुन व्यवसायीहरुबीच झडप भएको छ ।

सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिन अगाडि बढेका आन्दोलनरत कानुन व्यवसायी र प्रधानन्यायाधीश पक्षधर कानुन व्यवसायीबीच झडप भएको हो ।

आन्दोलनरत कानुन व्यवसायीहरु सर्वोच्च अदालत अगाडिको मुख्य गेटमा धर्नामा बसेका छन् । सर्वोच्च अदालत प्रवेश गर्ने भित्री गेटहरु सबै बन्द भएपछि बाहिरी गेटमा धर्ना भइहेको छ ।

धर्ना

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशलाई गेटमै रोक्ने गरी आन्दोलन गर्दै आएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायीहरुले आज सर्वोच्च अदालतको मूल गेटमा बिहान १० बजेदेखि १२ बजेसम्म धर्ना दिए ।

प्रधानन्यायाधीश जबरालाई अदालत प्रवेश गर्न नदिनका लागि नेपाल बार एसोसिएसनको अगुवाईमा कानुन व्यवसायी अदालतको गेटमा धर्नामा बसेका हुन् । कानुन व्यवसायीको आन्दोलनका कारण पहिलोपटक सर्वोच्च अदालतको मूल गेट बन्द गरिएको थियो । कानुन व्यवसायीलाई समेत अदालत प्रवेशमा रोक लगाइएको थियो ।

यसैबीच प्रधानन्यायाधीश जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ । उहाँले आठवटा इजलासमा पेसी तोक्नुभएकामा सातवटा संयुक्त र एउटा एकल इजलास रहेको छ ।

प्रधानन्यायाधीशले मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण यही कात्तिक ७ गते आइतबार मध्याह्नदेखि न्यायालयमा प्रश्न उठेपछि न्यायाधीशहरूले सुनुवाइ गर्न इन्कार गर्दै आउनुभएको छ । कात्तिक ८ गतेदेखि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दा बाहेक अन्य मुद्दामा सुनुवाई हुन सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.