पोखराका जलारी समुदायलाई जीविकोपार्जनमा समस्या
कास्की- पोखरा खपौदीकी ५२ वर्षे पार्वती जलारीलाई व्यवसाय जोखिममा पर्दै गएपछि अवका दिनमा कसरी जीविकोपार्जन गर्ने हो ? भन्ने चिन्ताले आजकल सताउने गर्दछ। फेवालातमा प्रर्याप्त माछा पनि छैनन्, जाल पनि चोरी हुन्छ र माछा मार्ने क्रममा व्यक्तिगत सुरक्षा चुनौती पनि थपिदै गएको उनीले आजकल महशुस पनि गर्दछिन्।
कहिलेकाँही गुण्डागर्दी शैलीमा अपरिचित व्यक्तिहरु आई धम्की पनि दिन्छन्।तालमा माछा मार्न पाइदैन भन्छन् ।कतिपय अवस्थामा धरपकट समेत गर्दछन् । अव यो पेशा गरेर बाच्न सकिएला जस्तो छैन, आइतवार फेवा किनार हल्लनचोकमा भएको कार्यक्रममा उनले आफ्नो पेशाबारे दुखेसो पोख्दै थिइन्।
पार्वतीको नजिकै रहेका ६० वर्षे देउबहादुर जलारीले उनको कुरा सुन्दै सहमति जनाएर टाउको हल्लाए।पुखौंदेखिको पेशा अव संकटमा पर्ला जस्तो लाग्दै छ ।यदि बचाउने हो भने तालसँगै माछाको बासस्थान जोगाउनुपर्ने र ड्यामसाइडमा जालीको प्रवन्ध हुनुपर्ने उनको माग छ।
कतिपयले अनुमति वेगर नै तालमा माछा मार्छन, हामी अनुमति पत्र लिदा समेत असुरक्षित छौं। जसका बीच व्यवसाय गरेर दैनिकी टार्न अव निकै सकस छ, उनले भने।
पार्वती र देउबहादुर त प्रतिनिधी पात्र मात्रै हुन् ।उनीहरु जस्तै अन्य जलारीले पनि कार्यक्रमका बीच सो पेशाबारे गुनासो पोखिरहे।
विश्व मत्स्य दिवसको अवसर पारी मत्स्य अनुसन्धान केन्द्र वेगनासले फेवा किनार हल्लनचोकमा आइतवार पोखराका जलारी समुदायको जीविकोपार्जनलाई लक्षित गरी तालमा स्वदेशी जातका माछाका भुरा छाड्ने कार्यक्रम राख्यो।
त्यस्तै खपौदीदेखि हल्लनचोकसम्म माछा संरक्षण संचेतना र्याली पनि निकालियो।सोही कार्यक्रममा जलारीहरु सहभागि भए र दुःखसुखका कुरा पनि साटासाट गरे ।
उक्त कार्यक्रममा सहर, गर्दी, रहु र नैनी जातका कुल १२ हजार भुरा छाडियो।कार्यक्रममा खपौदी स्थित हर्पन फेवा मत्स्य सहकारी संस्था साथै माछापुच्छ्रे जलारी महिला समूहले व्यवस्थापन सहयोग पनि गरे।
सो कार्यक्रमलाई सम्बोधन गर्दै पशुपन्छी तथा मत्स्य निर्देशनालय पोखराका प्रमुख डा.मनबहादुर पुनले जलारी समूदायको रोजिरोटीका लागि स्थानिय जातका माछा संरक्षण गर्नुपर्नेमा जोड दिए। जलवायु परिवर्तनका कारण उन्नत जातका माछामा समस्या हुने गरेको अनुभव राख्दै प्रमुख डा. पुनले माछा लगायत अन्य कृषि उत्पादनका स्थानीय जात संरक्षणका लागि प्रदेश सरकारसँग पहल भइरहेको पनि सुनाए ।
कृषि अनुसन्धान निर्देशनालय लुम्लेका निर्देशक डा.कालिकाप्रसाद उपाध्यायले विपन्न समुदाय(जलारी) लक्षित कार्यक्रम गरेकोमा मत्स्य अनुसन्धान केन्द्र प्रति आभार प्रकट गरे।उनले कार्यक्रमसँगै फेवामा माछाको संरक्षण संवद्र्घन हुने विश्वास जनाउँदै लोपोन्मुख बुधुना, भोटी लगायतका माछाको पनि संरक्षण गर्नुपर्ने औँल्याए।
मत्स्य अनुसन्धान केन्द्र वेगनास प्रमुख डा.मोहमद ईकवाल हुसेनले पोखराका जलारी समुदायलाई संरक्षण गर्ने हो भने सर्वप्रथम तालमा माछाको वासस्थान जोगाउनुपर्ने स्पष्ट पारे ।उनले उक्त समुदायले ताल संरक्षणमा भूमिका खेलेको औँल्याउँदै फेवातालमा २४ प्रकारका माछा पाइएको जानकारी पनि दिए । पोखरेलीको इज्यतका लागि भएपनि ताल जोगाउनुपर्ने उनको ठहर छ ।
त्यस अवसरमा विदेशी नागरिक डा.रिचर्ड, भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पोखराका वरिष्ठ पशु विकास अधिकृत सहदेव पौडेल, मत्स्य अनुसन्धान केन्द्र वेगनासका लेखापाल ओमनारायण शर्मा, प्राविधिक अधिकृत सुनिता चन्द, माछापुच्छ्रे जलारी महिला समूहकी अध्यक्ष सेतीमाया जलारी, हर्पन फेवा मत्स्य सहकारीका अध्यक्ष इन्द्रबहादुर जलारी लगायतले पनि भनाइ राखे। उनीहरुले फेवाताल पुरिदै गएको प्रति चिन्ता प्रकट गरे।
पोखराका कुल १ सय घरपरिवार जलारी समुदायको बसोवास छ। उनीहरुलाई फेवातालमा माछा मार्न अनुमति पनि छ। जसवापत जाल संङख्याका आधारमा सो समूदायले आवश्यक शुल्क तिरी मत्स्य अनुसन्धान केन्द्र वेगनासबाट माछा मार्ने अनुमति लिने गरेका छन्।
माछा मारेवापत प्रतिकिलो रु ५ का दरले पोखरा महानगरपालिकालाई पनि रकम बुझाउँदै आएको जलारीहरुले जनाएका छन्।।
प्रतिक्रिया राख्नुहोस्