धुलिखेल नगरपालिका : बेलायतमा चर्चापछि ‘आरोग्य सहर’ अभियान

काभ्रेपलाञ्चोक- धुलिखेल नगरपालिकाले नगरक्षेत्रभित्र कोइला प्रयोग गर्न प्रतिबन्ध लगाएको खबर नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले स्कटल्याण्डको ग्लास्गो सहरमा नोभेम्बर पहिलो साता आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२६)मा सुनाउनुभयो ।

नगरपालिकाले कोइलामुक्त बनाउने अभियानलाई अन्य निकाय तथा मुलुकले पनि अनुमोदन गर्न आग्रह गरिरहेको अवस्थामा उक्त सम्मेलनमा पोलिटले खबर सुनाएको भोलिपल्टै विश्वका अधिकांश राष्ट्रले कोइला प्रयोग रोक्ने घोषणा गरे । नगरपालिकाको यस्तो अभियानले विश्वलाई नै ‘एउटा उदाहणीय पाठ’ सिकाएकामा चर्चा कमाइरहेको धुलिखेल हाल ‘आरोग्य सहर’ अभियानमा छ ।

खनिजतत्व उत्खनन नगर्ने, वातावरणमैत्री विकास गर्ने र आगामी पाँच वर्षमा सबैका घरमा प्रयोग हुने फोहर पानी प्रशोधन गरी पुनः प्रयोग गर्ने योजना बनाएर काम भइरहेको नगरपालिकाले जनाएको छ । नगरप्रमुख अशोक ब्याञ्जूका अनुसार नगरक्षेत्रभित्र हाल कोइला प्रयोगलाई पूर्णरुपमा प्रतिबन्ध छ । “धुलिखेलको एउटा काम विश्वमा चर्चा हुनु गौरवको विषय बनेको छ”, ब्याञ्जूले भन्नुभयो ।

धुलिखेल नगर सबै वडामा स्वास्थ्य केन्द्र स्थापना गरी सबै नागरिकलाई स्वस्थ बनाइ आरोग्यता प्रदान गर्न स्वास्थ्यकर्मीलाई घरदैलो पु¥याउने काममा जुटिरहेको छ । नागरिकको अवस्था के छ, के–कस्तो उपचार आवश्यक छ पत्ता लगाउन धमाधम सर्वेक्षण गर्ने योजना बनाइएको ब्याञ्जूले बताउनुभयो । उहाँले भन्नुभयो, “नगरका सबै वडामा स्वास्थ्य केन्द्र स्थापना गरी सबै स्वास्थ्य केन्द्रमा निःशुल्क उपलब्ध गराइने ६५ थरिका औषधि पर्याप्त बनाइनेछ, सबै नागरिकलाई आरोग्यता प्रदान गर्न उहाँहरुको अवस्था बुझ्न सर्वेक्षण गर्दैछौँ ।” उहाँका अनुसार नगरभित्रका स्वास्थ्य केन्द्रलाई चुस्तदुरुस्त बनाइनेछ ।

सो नगरपालिका गत असोज अन्तिम साता विश्व स्मार्ट दीगो सहर सङ्गठनको सन् २०२१ देखि २०२३ सम्मका लागि कार्यसमिति सदस्यमा निर्वाचितसमेत भएको छ । विश्वका १३६ देशका सहर सदस्य रहेको सङ्गठनको विश्व स्मार्ट दीगो सहर सङ्गठनको पाँचौँ महासभाबाट १७ सदस्यीय कार्यसमितिमा धुलिखेल पनि निर्वाचित भएको थियो । ब्याञ्जूले संसारका ठूला देशका सहरसँगै सङ्गठनको कार्यसमिति सदस्यमा निर्वाचित हुनु अर्को गौरवको विषय भएको बताउनुभयो ।

धुलिखेल नगरलाई हालै शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ सहरमध्ये पाँचांै नम्बर र एशियाको पहिलो सहर बनेको घोषणा गरिएको थियो । धुलिखेलले यसअघि दक्षिण एशियामै पहिलो पटक ‘जिवाश्म इन्धन अप्रसारसन्धी’ अभियानलाई कार्यान्वयनका ल्याएको थियो । सन्धिअन्तर्गत रहेर धुलिखेलले आफ्नो नगर क्षेत्रलाई पर्यटकीय सहरको रुपमा विकास गर्ने उद्देश्यले दीगो विकास र स्वस्थ तथा सफा वातावरणीय कार्यलाई पहिलो प्राथमिकता दिँदै आएको थियो ।

यसअघि नगरपालिकाले जलवायु परिवर्तनको असरलाई कम गर्न शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री कार्यलाई प्राथमिकताका साथअघि बढाएको थियो । नगरपालिकाले शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ सहरमध्ये पाँचांै नम्बर र एशियाको पहिलो सहर बनेको घोषणा गरिएको अवसरमा धुलिखेलमा शून्य ग्रीन हाउस ग्यास उत्सर्जनसहित वातावरणमैत्री विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । आउँदा दिनमा समेत नगरपालिकाद्वारा जिवाश्म इन्धन अप्रसारसन्धि अभियान कार्यान्वयनमा पहिलो प्राथमिकतामा राखिने जनाइएको छ ।

यसैबीच धुलिखेलले सहरीकरणका कारण उत्पन्न हुने वातावरण प्रदूषण एवं स्वास्थ्य समस्यालाई वैज्ञानिक तवरबाट समाधान गर्न ‘खाद्य हरियाली सहर’ कार्यक्रम थालिने जनाएको छ । यसका लागि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) र धुलिखेल नगरपालिकाबीच कार्यक्रम सञ्चालनका लागि समझदारी भएको छ ।

वैज्ञानिक माध्यमबाट नगरलाई दीगो रुपमा खाद्य हरियाली सहर बनाउन नगरसँग सम्झौता गरिएको ब्याञ्जूले बताउनुभयो । उक्त कार्यक्रमले वातावरण प्रदूषण एवं स्वास्थ्य समस्या समाधानार्थ दीगो रुपमा वैज्ञानिक ढङ्गबाट नगर सफा–सुन्दर हुने जनाइएको छ । यो कार्यक्रमले केही हदसम्म बेरोजगारी घट्नेछ भने स्थानीय स्रोतको पहिचान र उपयोग गर्न सकिने बताइन्छ ।

यस कार्यक्रममा सो नगरपालिकाले लिएको ‘स्वच्छ र स्वस्थ’ सहरको अवधारणा पूरा गर्न यस कार्यक्रमले ठूलो मद्दत पु¥याउने अपेक्षा गरिएको छ । जडीबुटीको उत्पादन, प्रयोग तथा अनुसन्धानसमेत कार्यक्रममा समावेश गरिनेछ । सफा–सुन्दर बनाउन थप कार्यक्रम युवा उद्यमशीलता, रोजगारी व्यवस्थापन, दीगो रुपमा स्वच्छ, सफा र सुन्दर नगर निर्माण गर्ने औषधिजन्य बिरुवा, च्याउ तथा फलफुलको वैज्ञानिक तवरबाट प्रशोधन, भण्डारण र बजारीकरणलगायतका काम हुने जनाइएकोे छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.