भाषाविज्ञान समाज नेपालको ४२औँ वार्षिक सम्मेलन सम्पन्न

नेपाल लगायत विश्वभरबाट ६५ भन्दा बढी कार्यपत्र प्रस्तुत

काठमाडौँ-  बिक्रम संम्बत् २०३६ सालमा स्थापित  भाषाविज्ञान समाज नेपालले यही मङ्सिर १० र ११ गते बयालिसौं वार्षिक सम्मेलन सम्पन्न गरेको छ।

कोभिड महामारीलाई दृष्टिगत गरी यसपटक पनि सम्मेलन अनलाइनमार्फत गर्नु परेको भाषा विज्ञान समाजकी महासचिव डा. अम्बिका रेग्मीले जानकारी गराउनुभयो ।

यो सम्मेलनमा नेपाल, भारत, जापान, जर्मनी लगायत विभिन्न देशका ६५ भन्दा बढी कार्यपत्रहरू प्रस्तुत गरिएका थिए। यी कार्यपत्रहरू मुलत: समाज भाषाविज्ञान, वर्णविज्ञान, रूप विज्ञान, वाक्य विज्ञान, भाषा शिक्षण र कम्प्युटेशनल भाषाविज्ञान जस्ता विषयमा केन्द्रित थिए।

यस सम्मेलनको उद्घाटन सत्रको अध्यक्षता  भाषाविज्ञान समाज नेपालका अघ्यक्ष श्री कृष्ण प्रसाद चालिसेले गर्नु भएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै समाजका उपाध्यक्ष डा. कर्णाखर खतिवडाले विश्वभरिबाट भाषाको क्षेत्रमा योगदान पुर्‍याउन कार्यक्रमको मुख्य उदेश्य रहेको बताउनुभयो ।  सम्मेलनको प्रमुख अतिथि  सुदुरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. अम्मराज जोशीले उद्घाटन गर्नुभएको थियो।

विशेष अतिथिमा भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थी, त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. डा. शिवलाल भुषाल र नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य-सचिव प्रा. डा. जगतप्रसाद उपाध्यायलाई आमन्त्रण गरिएको थियो। त्यसै गरी विभिन्न केन्द्रीय विभागका प्रमुखहरू अतिथीको रूपमा सहभागी हुनुहुन्थ्यो ।

सम्मेलनमा त्रिभुवन विश्व विद्यालय भाषा विज्ञान विभागका प्रमुख प्राध्यापक डा. बलराम प्रसाईंले  नेपालका भाषाहरूको स्थितिका बारेमा चर्चा गर्दै सम्मेलनको सफलताको कामना गर्नु भएको थियो।

प्रमुख अतिथी प्रा.डा. अम्मराज जोशीले आफ्नो मन्तव्यको क्रममा नेपालका भाषाहरूको विविधतालाई कुनै पनि पक्षबाट आँच आउने काम हुन नहुने कुरालाई जोड दिनु भएको थियो।  साथै नेपालको समाजभाषिक सर्वेक्षणले देखाएको भाषाहरूको स्थितिलाई मनन गरी राज्य र भाषिक समुदायले पाइला चाल्नु पर्ने  सुझाव पनि दिनु भएको थियो।

उद्घाटन सत्रको समापन मन्तव्य दिदैँ यस समाजका अघ्यक्ष कृष्णप्रसाद चालिसेले नेपालका भाषाहरूको समुचित विकास गर्नु पर्ने धारणा राख्नुभएको थियो।

यस सम्मेलनमा ‘कि नोट’ वक्ता (Keynote Speaker) को रूपमा  समाजका पूर्व अध्यक्ष तथा भाषाविज्ञान विभागका पूर्व प्रमुख प्रा.डा. दानराज रेग्मीले नेपाल र विश्वका विभिन्न भाषाहरुको बर्तमान अवस्था र ती भाषाहरुको विविध पक्षमा गरिनुपर्ने अनुसन्धानको बारेमा चर्चा गर्नुभएको थियो ।

विसं २०६९ देखि २०७४ सालसम्म सञ्चालित नेपालको भाषिक सर्वेक्षणका निर्देशकको भूमिका निभाइ सक्नु भएका प्रा. रेग्मीले आफ्नो किनोट भाषणमा नेपालका भाषाहरूको वर्तमान स्थितिको बारेमा समिक्षात्मक विश्लेषणसमेत प्रस्तुत गर्नुभएको थियो।

नेपालमा बोलिने करिब ५५ प्रतिशत भाषाहरू लोपोन्मुख अवस्थामा रहेका र तिनीहरूको उचित संरक्षणका लागि सम्बन्धित निकायले प्रभावकारी रूपमा ध्यान दिन नसकेको भनाइ  प्रा. डा. रेग्मीको थियो ।

नेपालमा आजसम्म पनि भाषिक जनगणना हुन नसकेको  र राष्ट्रिय जनगणनाका क्रममा गरिएको भाषिक गणनामा थुप्रै त्रुटीहरू रहेको कुरा पनि प्रा.रेग्मीले जानकारी दिनुभयो।

हालै सम्पन्न भएको जनगणनामा पनि आफ्ना भाषामा वक्ता सङ्ख्या जसरी पनि बढाउने ध्ययले पूर्खाले बोलेको तर अहिले मातृभाषाको रूपमा नबोलिने भाषालाई पनि मातृभाषाको रूपमा लेखाउन विभिन्न भाषिक समुदाय लागेको देखिएकाले भाषाको तथ्याङ्क वास्तविक भन्दा टाढा जान सक्ने आसङ्का प्रा.डा. रेग्मीले व्यक्त गर्नुभयो।

लोपोन्मुख भाषाको संरक्षणका लागि सही तथ्याङ्कका आधारमा  भाषाका जीवन्तताका तह निर्धारण गरी तह अनुसारका रणनीतिहरू तय गर्नु आवश्यक भएको कुरालाई वहाँले जोड दिनु भएको थियो।

‘कि नोट’ मन्तव्यको मोडरेशन डा. लवदेव अवस्थीले गर्नु भएको थियो। कार्यपत्रहरू नौ सत्रमा प्रस्तुत गरिएका थिए। हरेक सत्र दुई समानान्तर सत्रमा विभाजित गरिएको थियो।

३ जनालाई ‘युवा भाषा विज्ञ पुरस्कार’ प्रदान

नेपाली युवा भाषाविज्ञलाई प्रोत्साहन गर्ने उद्देश्यले सिल इन्टरनेशनल नेपालको सहयोगमा एक दशक भन्दा अगाडिदेखि  प्रतिस्पर्धाको आधारमा दिइँदै आएको ‘युवा भाषा विज्ञ पुरस्कार’ यस पटक मञ्जु अधिकारी, सन्तोषकुमार लिम्बु र ज्योती शर्मालाई प्रदान गरिएको छ।

मञ्जु अधिकारीले पश्चिमी तामाङ भाषिकाको वाक्य सङ्गठन प्रक्रिया, सन्तोष कुमार लिम्बुले लिम्बु भाषाको मानकीकरण र ज्योती शर्माले लिम्बु भाषाको वर्ण विज्ञानका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

पुरस्कारको राशी जनही दश हजार रुपयाँ र प्रमाण पत्र रहेको भाषा विज्ञान समाजकी महासचिव डा. अम्बिका रेग्मीले जानकारी गराउनुभयो ।

कार्यक्रममा समाजकी महासचिव डा. अम्बिका रेग्मीले  आगामी सम्मेलन सबैकुरा समान्य रहेमा भौतिक रूपमा आयोजना गरिने जानकारी पनि दिनु भयो।

समाजका पूर्व अध्यक्ष तथा वरिष्ठ भाषाविज्ञको रूपमा प्रा. डा. योगेन्द्र प्रसाद यादव र प्रा. डा. अभिनारायण सुवेदीले यस्तो अपठ्यारो परिस्थितिमा पनि सम्मेलन प्रभावकारी रूपमा सञ्चालन गर्न सकेकोमा समाजलाई धन्यवाद दिनु भयो।

प्रस्तोताका तर्थबाट मञ्जु अधिकारी, डा. समर सिन्हा, डा. कुमोन तोकुमारूले सम्मेलन भव्य रूपमा सम्पन्न भएकोमा समाजलाई धन्यवाद दिनुभएको थियो।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.