काँकडभिट्टा नाकाबाट चार महिनामा पाँच करोडको कोदो आयात

झापा- पूर्वी नाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्षको पहिलो चार महिनामा रु पाँच करोड बढीको कोदो नेपाल आयात गरिएको छ ।

क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार चालु आर्थिक वर्ष २०७८÷०७९ को साउन, भदौ, असोज र कात्तिकमा रु पाँच करोड १५ लाख २५ हजार मूल्य बराबरको एक हजार ६१० मेट्रिक टन कोदो आयात गरिएको हो । गत वर्ष सोही अवधिमा रु चार करोड ५१ लाख ९४ हजार मूल्यको एक हजार ५७० मेट्रिक टन कोदो आयात भएको थियो ।

क्वारेन्टिन कार्यालय काँकडभिट्टाका वरिष्ठ बाली संरक्षण अधिकृत देविन्द्र साहुले भारतको उत्तरखण्ड, झारखण्ड र सिलगुढीबाट कोदो आयात हुने गरेको बताउनुभयो । उहाँले गत वर्षको तुलनामा यस वर्ष ४० मेट्रिक टन बढी कोदो आयात भएको जानकारी दिनुभयो ।

विर्तामोड नगरपालिका–५ मा मोती इन्टरनेशनल बिक्री केन्द्रमार्फत पवनकुमार अग्रवालले मासिक साढे सात हजार किलो कोदो भारतबाट खरिद गरेर ल्याउने गरेको बताउनुभयो । उहाँले भारतबाट ल्याइने कोदोलाई ५० किलोका बोरामा प्याकेजिङ गरेर बिक्री गर्ने गरेको जानकारी दिनुभयो । अग्रवालजस्तै अन्य पाँच बिक्री केन्द्रले भारतबाट कोदो ल्याएर नेपालमा प्याकेजिङ गरेर बिक्री गर्दै आएका छन् ।

नेपाल २० वर्षअघि सम्म हेटौँडाबाट उत्पादन हुने कोदोमा आत्मनिर्भर रहेको तर, हेटौँडामा कोदोको उत्पादन हुन छाडेपछि भारतीय कोदो ल्याएर बिक्री गर्दै आएको उहाँले बताउनुभयो । “गुणस्तरीय कोदो उत्पादन हुन्थ्यो हेटौँडामा”, उहाँले भन्नुभयो, “युवा जति पलायन हुन थालेपछि र कोदो खेती हुने जमिनमा सहरीकरण भएपछि नेपाल कोदोमा परनिर्भर हुनुप¥यो ।”

कृषि ज्ञान केन्द्रका अर्थविज्ञ शालिकराम भट्टराईले झापामा ९५० हेक्टर जमिनमा मात्र कोदो खेती हुँदै आएको बताउनुभयो । नेपालको पहाडी तथा तराईका जिल्लामा कोदो खेती प्रशस्तै हुने भए पनि किसानको ध्यान त्यतातिर नजाँदा परनिर्भर हुनुपर्ने बाध्यता भएको बताउनुभयो । उहाँले विशेष गरी जाँड रक्सी बनाउनका लागि कोदो भारतबाट आयात हुने गरेको सुनाउनुभयो । उहाँले पछिल्लो समय होमस्टे, रेष्टुराँमा कोदोको रोटी, ढिँडोको परिकार बनाउनसमेत आयात हुने गरेको बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.