कांग्रेस नेतृत्वका लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सभापतिमा ५, महामन्त्रीमा ६ जना उम्मेदवार

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १४औँ महाधिवेशनमा नेतृत्वको मतदानका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।
अन्तिम नामावलीअनुसार सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा शेखर कोइराला र कल्याणकुमार गुरुङको उम्मेदवारी कायम छ । शनिबार सभापति पदमा उम्मेदवारी दिनुभएका गोरखाका महाधिवेशन प्रतिनिधि युवराज न्यौपानेले भने उम्मेदवारी फिर्ता लिनुभएको छ । पाँच जनामध्येबाट सभापतिमा एकजना निर्वाचित गर्नुपर्ने छ ।
यसैगरी दुई जना उपसभापतिका लागि विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, महेश आचार्य, सुजाता कोइराला, डा चन्द्र भण्डारी, धनराज गुरुङ र दिव्यश्वरी शाह गरी सातै जनाको उम्मेदवारी कायमै छ ।
दुई महामन्त्री पदका लागि छ जनाको उम्मेदवारी परेको छ । महामन्त्रीमा डा प्रकाशशरण महत, डा मीनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, गगनकुमार थापा, प्रदीप पौडेल र डा राजाराम कार्कीको उम्मेदवारी कायमै छ ।
एक महिला सह–महामन्त्री पदमा कमला पन्त र डीना महालक्ष्मी उपाध्याय, दलित एक सह–महामन्त्री पदमा मानबहादुर विश्वकर्मा, जीवन परियार र गङ्गा सुनारको उम्मेदवारी परेको छ । आदिवासी जनजातितर्फ एक सहमहामन्त्री पदका लागि विकास लामा र भीष्मराज आङदाङवेको उम्मेदवारी कायमै छ । खस आर्यतर्फ एक सहमहामन्त्री पदका लागि देवराज चालिसे र किशोरसिंह राठौर दुई जना प्रतिस्पर्धामा हुनुहुन्छ ।
मधेशीतर्फ एक सहमहामन्त्री पदमा रञ्जीत कर्ण, रामकृष्ण यादव र महेन्द्र यादवको उम्मेदवारी कायम छ । मुस्लिमतर्फ एक सहमहामन्त्री पदका लागि फरमुल्लाह मन्सुर र शेख वकीलको उम्मेदवारी छ । थारुतर्फ एक सहमहामन्त्री पदका लागि तेजुलाल चौधरी र उमाकान्त चौधरीको उम्मेदवारी छ । थारुतर्फबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिनुभएका सुरेन्द्रप्रसाद चौधरीले उम्मेदवारी फिर्ता लिनुभएपछि दुई जनामात्र प्रतिस्पर्धामा कायम रहनुभएको हो ।
पिछडिएको क्षेत्रबाट निर्वाचित हुने एक सहमहामन्त्री पदका लागि बद्रीप्रसाद पाण्डे, जीवनबहादुर शाही र चेतराज बजालको उम्मेदवारी पनि कायमै रहेको निर्वाचन समितिले जनाएको छ ।
यस महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ कायम रहेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ सङ्घीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी उक्त सङ्ख्यामा महाधिवेशन प्रतिनिधि चयन हुनुभएको हो । यसअघि शुक्रबार भृकुटीमण्डपमा भव्य समारोहका बीच महाधिवेशनको उद्घाटन भएको थियो । शनिबार उम्मेदवारले मनोनय दर्ता गराउनुभएको हो । आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै सोमबार बिहान ८ बजेदेखि मतदान हुने कार्यक्रम तय भएको छ ।
बैठकको निर्णय सबैले स्वीकार्नु पर्छ : अध्यक्ष ओली
नेकपा (एमाले)को अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकले उत्कृष्ट प्रक्रियाबाट नेतृत्व चयन गरेको भन्दै बैठकको निर्णयलाई सबैले स्वीकार्नुपर्ने बताउनुभएको छ । भक्तपुरको जर्मन होम हस्पिटालिटीमा जारी केन्द्रीय कमिटीको दोस्रो दिनको बैठकलाई सम्बोधन गर्दैै उहाँले पार्टी एकतालाई मूल मन्त्र मानेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, “हाम्रो बीचको एकताले मात्र सबै कुरा जित्न सकिन्छ, एकताको मन्त्रमा ध्यान दिएर अगाडि बढ्नुपर्छ कसैलाई जिम्मेवारी पुगेन भनेपछि उचित जिम्मेवारी दिनेछौँ ।”
केन्द्रीय कमिटी नेतृत्व व्यवस्थापन र जिम्मेवारी दिने कुरा सरल होइन गाह्रो कुरा हो भन्दै उहाँले केन्द्रीय कमिटीका लागि मात्रै आफूलाई ९०० जनाको नाम आएको बताउनुभयो । पोलिटब्यूरोका लागि पनि ५० प्रतिशतभन्दा बढी योग्य व्यक्ति हुँदाहुँदै पनि उत्कृष्ट मध्येको उत्कृष्ठ छान्ने गाह्रो भएको उहाँले बताउनुभयो ।
लोकतान्त्रिक विधिमा निर्वाचन पद्धतिले नै सबै ठिक गर्छ भने होइन भन्दै उहाँले नेतृत्वसँग देशभरीलाई हेर्ने र बुझ्ने क्षमता हुने भएकाले नेतृत्वले तयारी गरेर ल्याएर गरिएको निर्णय सबभन्दा बढी विश्वासिलो र लोकतान्त्रिक हुने बताउनुभयो । उहाँले बैठकको निर्णयलाई सबैले स्वीकार्नुपर्नेमा जोड दिँदै कतिपयलाई अन्याय प¥यो होला तर योभन्दा राम्रो प्रस्ताव अरु हुन नसक्ने बताउनुभएको केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्