नेपालमा २४ घण्टामा तीन महिनायताकै उच्च संक्रमण (सात दिनको तथ्यांकसहित)

काठमाडौं- नेपालमा पनि कोरोना भाइरस संक्रमितको संख्या निरन्तर उकालोतिर लागेको छ ।

छिमेकी भारतमा संक्रमण उच्च रहँदा नेपालमा पनि संक्रमित दर वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमण ४३५ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा सङ्गीताकौशल मिश्राले १० हजार २६७ जनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।

यो संक्रमण तीन महिनायताकै उच्च हो । यसअघि कात्तिक २३ गते ४४३ जनामा संक्रमण पुष्टि भएको थियो ।

उहाँका अनुसार अहिलेसम्म पाँच हजार २२५ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो समय थप २३९ जना कोरोनाबाट निको भएर घर फर्किएका उहाँले बताउनुभयो । योसँगै निको हुनेको सङ्ख्या आठ लाख १३ हजार १७६ पुगेको छ । निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म ११ हजार ६०१ जनाको सङ्क्रमणका कारणले निधन भएको छ ।

प्रवक्ता मिश्राले अस्पतालमा बेडको स्थितीबारे रिर्पोटिङ गर्न अस्पतालहरुलाई निर्देशन दिनुभयो । ‘स्मार्ट लकडाउनको कार्यविधिले ३० प्रतिशतभन्दा बढी बेड भरिए प्रणालीमा चाप आउन नदिन स्मार्ट लकडाउन गर्नुपर्ने भनेको छ,’ उहाँको भनाइ छ ।

नेपालको कोरोनाको आर भ्यालू पनि १.०६ प्रतिशत पुगेको छ । आर भ्यालू एक प्रतिशतभन्दा बढ्नुले महामारी नियन्त्रणबाहिर गएको संकेत गर्छ ।

प्रवक्ता मिश्राले सम्भावित तेस्रो लहरसँग जुध्न मन्त्रालयले तयारी सुरु गरेको जानकारी दिनुभयो ।

अहिलेसम्म नेपालमा ओमिक्रोनका ३ वटा केस पुष्टि भएका छन् । ओमिक्रोन पत्ता लगाउन मन्त्रालयले जिन सिक्वेन्सिङको काम गरिरहेको प्रवक्ता मिश्राले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.