नेपाल टेलिभिजन कर्मचारी संघको १३ औँ अधिवेशन शुरु
काठमाडौँ- नेपाल टेलिभिजन कर्मचारी संघको १३ औँ अधिवेशन काठमाडौँमा शुरु भएको छ ।
संघको अधिवेशन उद्घाटन सत्रमा प्रमुख अतिथि संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपाल टेलिभिजनलाई उत्कृष्ट टेलिभिजन च्यानल बनाउनेतर्फ यहाँका संचारकर्मी तथा कर्मचारीहरुको प्रयत्नलाई आफू र मन्त्रालयले सँधैब साथ दिने बताउनुभयो ।
मन्त्री कार्कीले नेपाली टेलिभिजन च्यानलहरुमध्ये नेपाल टेलिभिजनको स्थापना र यसले दिएको योगदान उल्लेख्यनीय रहेको बताउनुभयो । उहाँले टेलिभिजन भित्र सुधारका प्रशस्त ठाउँहरु रहेको र त्यसका लागि छिट्टै नेपाल टेलिभिजनको व्यवस्थापन तथा आम कर्मचारीसँग छलफल गरेर अघि बढ्ने प्रतिवद्दता पनि व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रवन्धक फुलमान वल तामाङले नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष नियुक्तिमा ढिलाइ हुँदा कतिपय काम गर्न गाह्रो भएको बताउनुभयो । महाप्रवन्धक तामाङले आफूले कुनैपनि काम गर्दा छलफल गरेर मात्र निर्णयमा पुग्ने प्रणाली अबलम्बन गर्ने गरेको बताउनुभयो ।
कार्यक्रममा मिडियाकर्मीहरुको राष्ट्रिय संजाल युनिमी-नेपालका अध्यक्ष गोविन्द धितालले सर्वोच्च अदालतको संसद पुनर्स्थापना गर्ने फैसला ऐतिहासिक भएपनि नेपाल टेलिभिजनले यो फैसलाको मर्म र भावनालाई आम जनतासमक्ष पुर्याउन नसकेको बताउनुभयो ।साथै नेपाल टेलिभिजन भित्रका विकृति र विसंगतिलाई यहाँ भित्रका कर्मचारीहरुको एकताले मात्र रोक्न सकिने भनाइ अध्यक्ष धितालको थियो ।
नेपाल टेलिभिजन कर्मचारी संघका अध्यक्ष गोपालप्रसाद दाहालले कोभिड-१९ का कारण संघले सोचेजस्तो काम गर्न नसकेपनि व्यवस्थापनसँग सामूहिक सौदावाजीका कतिपय विषयमा उपलब्धी हाँसिल गरेको उल्लेख गर्नुभयो ।
नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाका अध्यक्ष दिपकजंग हमालले नेपाल टेलिभिजनभित्र सरकार परिवर्तनका कुनैपनि संकेतहरु नेदेखिएको गुनासो गर्नुभयो । उहाँले नेपाल टेलिभिजनमा कर्मचारी प्रतिनिधिको रुपमा संचालक समितिमा नियुक्ति गर्दा नौ तह र सो भन्दा माथिका कर्मचारीलाई मात्र नियुक्ति गर्ने कार्यबिधि बनाइएको र सो कार्यबिधिले कार्यकारी अध्यक्ष नियुक्तिमा समेत प्रतिश्पर्धालाई संकुचित गरेकोले तत्काल सो कार्यविधि मन्त्रालयले खारेज गर्नुपर्ने मागसमेत गर्नुभयो ।
नेपाल टेलिभिजन कर्मचारी संघका बरिष्ठ उपाध्यक्ष आलोक तिवारीले कर्मचारी संघले संस्थानको बृहत्तर हित र कर्मचारीको हकहितका लागि निरन्तर खवरदारी गरिरहेको बताउनुभयो ।
मधेशी पत्रकार समाजका अध्यक्ष मोहन कुमार सिंहले कर्मचारीको हक हितका लागि नेपाल टेलिभिजन कर्मचारी संघले विभिन्न कालखण्डमा गरेका कामहरुको प्रशंसा गर्नुभयो ।
यसैगरी, नेपाल टेलिभिजन कर्मचारी युनियनका अध्यक्ष विश्वेश्वर पौडेलले कर्मचारी संघले कर्मचारी आन्दोलनको लामो समयदेखि नेतृत्व गरेको स्मरण गराउनुभयो ।
संघको यो अधिवेशनले २ बर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । यसका लागि यही पुष २३ गते निर्वाचन हुने तालिका सार्वजनिक गरिएको छ। संघमा २१७ जना साधारण सदस्यहरु रहेका छन ।।
प्रतिक्रिया राख्नुहोस्