गोरखादेखि काठमाण्डौंसम्म नेपाली सेनाको पदयात्रा शुरु

गोरखा- पृथ्वी जयन्तीको अवसर पारेर नेपाली सेनाले गोरखादेखि काठमाण्डौंसम्म पदयात्रा शुरु गरेको छ । ऐतिहासिक महत्वको एकिकरण अभियानलाई हर्सोल्लासका साथ मनाउन गोरखादेखि काठमाण्डौंसम्मको ऐतिहासिक पदमार्गमा पदयात्रा शुरु गरिएको सेनाले जनाएको छ ।

नेपाली सेनाले दुई वर्षदेखि यही बाटो हुँदै काठमाण्डौंसम्म पदयात्रा गर्दै आएको छ । नेपाली सेनाको मध्यकमाण्ड हेडक्वाटरका कमाण्ड सेनापति उपरथी बाबुराम श्रेष्ठ र गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले नेपालको राष्ट्रिय झण्डा र टर्च हस्तान्तरण गरि पदयात्राको शुभारम्भ गर्नुभएको हो ।

गोरखा दरवारबाट शुरु भएको यात्रा धादिङ, नुवाकोट हुँदै पृथ्वीजयन्तीको दिन काठमाण्डौं पुग्ने गोरखास्थित रिपुमर्दन गणका सेनानी प्रकाश परियारले बताउनुभयो । पदयात्रामा वाजागाजा सहित पृथ्वीनारायण शाहकालीन नेपाली सेनाको पोशाकमा रिपुमर्दन गणको फौज सहभागी भएको छ ।

सो क्रममा टर्च सहितको नेपालको झण्डा सहित पृथ्वीनारायण शाहको पालामा स्थापना भएका सेनाका प्रथम पाँच कम्पनीका झण्डा पनि समावेश गरिएको सेनानी परियारले जानकारी दिनुभयो । पृथ्वीनारायण शाहको पालामा श्रीनाथ, कालिबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज नाममा ५ कम्पनी स्थापना भएका थिए ।

तत्कालीन कम्पनीहरु अहिले पनि सेनाको गणका रुपमा रहेका छन् । पदयात्राका क्रममा गोरखाको टोलीले नेपाली सेनाको धादिङको टोलीलाई, धादिङले नुवाकोटको टोलीलाई र नुवाकोटमा तैनाथ नेपाली सेनाको टोलीले काठमाण्डौंमा तैनाथ गणलाई टर्च, राष्ट्रिय झण्डा र सेनाका ५ कम्पनीको झण्डा हस्तान्तरण गर्नेछ ।

काठमाण्डौंको गणले पृथ्वीजयन्तीको दिन काठमाण्डौंमा हुने कार्यक्रममा भाग लिने नेपाली सेनाले जनाएको छ । सरकारले गोरखादेखि काठमाण्डौंसम्मको पुरानो बाटोलाई एकिकरण पदमार्गका रुपमा विकास गर्न थालेको हो । सेनाले उक्त पदमार्गको अध्ययन पूरा गरेको छ ।

गोरखाबाट धादिङ, नुवाकोट हुँदै काठमाण्डौंबाट काभ्रेसम्मको करीव १ शय ९२ किलोमिटर बाटोलाई सरकारले एकिकरण पदमार्गको रुपमा प्रवद्र्धन गर्न लागेको हो । नेपाली सेनाको गोरखास्थित गणले भने गोरखाजिल्लाभित्रको बाटोको अध्ययन गरेको छ । गोरखा दरवारबाट पिपलथोक, ताप्लेकोट, अश्राङ हुँदै बोर्लाङघाटसम्मको बाटोको प्रारिम्भक अध्ययन गरि स्थानीय सरकारसँगको सहकार्यमा पदमार्ग सुधारको काम पनि शुरु गरिएको सेनाले जनाएको छ ।

काठमाण्डौंको हनुमानढोकाबाट गोरखा दरवार २६ कोषको दूरीमा रहेको छ । बाटोको विचविचमा रहेका अधिकाँश कोसेढुंगा हराएका छन् भने भएकाको पनि संरक्षण हुन सकेको छैन । एकिकरण पदमार्गमा पर्ने गोरखाखण्डमा ६ वटा कोसेढुंगा हुनुपर्नेमा ५ वटामात्रै सुरक्षित छन् । गोरखा दरवारको हनुमान भञ्ज्याङ, मेलबिसौना, ताप्लेकोट, अश्राङको ठाँटी र बोर्लाङको घाटवेसीको कोसेढुंगा सुरक्षित छन् । यस्तै पदमार्ग आसपास दर्जनौं ऐतिहासिक मठमन्दिर, गुम्बा, पाटीपौवा लगायतका पुरातात्विक सम्पदाहरु रहेका छन् । पदमार्गको धेरैजसो खण्डमा भने मध्यपहाडी लोकमार्ग निर्माण भैरहेको छ । जसका कारण ऐतिहासिक सम्पदा नासिने जोखिम पनि बढेको छ । पुरानो हुलाकी मार्गका रुपमा रहेको बाटो आसपासका पुराना चौताराहरुको पनि संरक्षण हुन सकेको छ्रैन ।

पदयात्रामा सहभागी सेनाको टोलीको बिदाई कार्यक्रममा बोल्दै नेपाली सेनाको मध्यकमाण्ड हेडक्वाटरका कमाण्ड सेनापति बाबुराम श्रेष्ठले पदमार्गमा पर्ने सम्पदाहरुको संरक्षणमा पनि सेना सहभागी भैरहेको बताउनुभयो । उहाँले राष्ट्रिय एकताको सन्देश दिन सेनाले पदयात्राको थालनी गरेको जानकारी दिनुभयो ।

गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले त्यस्ता सम्पदाको संरक्षणमा नेपाली सेनालाई गोरखा, धादिङ, नुवाकोट र काठमाण्डौंका स्थानीय सरकारले साथ दिनुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले एकिकरण पदमार्गमा पर्ने जिल्लाहरुविच त्यसको प्रचारप्रसारका लागि समन्वय हुनुपर्ने बताउनुभयो ।

पत्रकार महासंघ गोरखा शाखाका कोषाध्यक्ष मोहसिन अलि मियाँले नेपाली सेनाको यसप्रकारको अभियानले गोरखाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो । कार्यक्रममा नेपाली सेनाको श्री नं ३ बाहिनी अड्डाका बाहिनीपति कुमारबाबु थापा, रिपुमर्दन गणका गणपति हेमराज विष्ट, गोरखाको विभिन्न पालिकाका जनप्रतिनिधि, कार्यालय प्रमुख लगायतको सहभागीता रहेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.