माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय
२५ जना भन्दा बढी भेला हुन रोक, सार्वजनिक स्थलमा प्रवेश गर्दा भ्याक्सिन लगाएको प्रमाण देखाउनुपर्ने
काठमाडौं– कोभिड- १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।
सीसीएमसीको आइतबार बसेको बैठकले हिउँदे बिदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्न आग्रह गरेको प्रवक्ता सुनिता नेपालले जानकारी दिनुभयो । अभिभावकहरुलाई पनि बालबालिकालाई विद्यालय नपठाउन आग्रह गर्ने निर्णय गरेको उहाँको भनाइ छ ।
यसैगरी माघ ३ गतेदेखि सार्वजनिक स्थलमा प्रवेश गर्दा कोरोना भ्याक्सिन लगाएको कार्ड देखाउनुपर्ने भएको छ ।
उहाँले विभिन्न सार्वजनिक स्थलमा प्रवेश गर्दा, जस्तै कार्यालय, होटेल, सिनेमा हल, रंगशाला, हवाइ यात्रा गर्दा भ्याक्सिन लगाएको प्रमाण देखाएर मात्रै सेवा लिन पाउने गरी निर्णय भएको बताउनुभयो ।
पछिल्लो साता कोरोना संक्रमण पुनः तीब्र भएपछि सीसीएमसीले रोकथामको पूर्वतयारी सुरु गरेको हो ।
बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको गरेको छ ।
‘अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु आयोजना नगर्न नगराउन सबै स्थानीय प्रशासनलाई गृह मन्त्रालय मार्फत लेखी पठाउन सिफारिस गर्ने’ बैठकको निर्णयमा भनिएको छ ।
प्रतिक्रिया राख्नुहोस्