मानवीय संकटमा रहेको अफगानी जनताका लागि नेपालले १४ टन घरायसी सामग्री पठायो
काठमाडौं- मानवीय संकटमा रहेको अफगानिस्तानका जनताका लागि नेपालले औषधि, लत्ताकपडा, घरयासी सरसामान लगायतका १४ टन सामग्री अफगानिस्तान पठाएको छ ।
हिमालय एयरलाइन्सको विमानबाट आजै ती सामग्री लिएर परराष्ट्र मन्त्रालयको टोली अफगानिस्तानको राजधानी काबुलतर्फ गएको छ । ठूलो आर्थिक संकट झेलिरहेको अफगानिस्तानका जनतालाई राहत दिने उद्देश्यले सहयोग सामग्री पठाइएको परराष्ट्रमन्त्री डा. नारायण खड्काले बताउनुभयो ।
परराष्ट्र मन्त्रालयका प्रतिनिधिले अफगानिस्तानको राजधानी काबुल विमानस्थलमा संयुक्त राष्ट्रसंघका प्रतिनिधिलाई ती सामग्री हस्तान्तरण गर्ने पराराष्ट्रमन्त्री खड्काले जानकारी दिनुभयो ।
हिमालय एयरलाइन्सले ती सामग्री निःशुल्क अफगानिस्तानको राजधानी काबुल लगेको हो । आर्थिक संकटका कारण अफगानिस्तानका १० लाखभन्दा बढी बालबालिका कुपोषणको शिकार भएका छन् ।
दक्षिण एसियामै संकट झेलिरहेको मुलुकलाई मानवीय रुपमा सहयोग उपलब्ध गराउँदा नेपालको प्रतिष्ठा उच्च हुने परराष्ट्र मन्त्री खड्काको भनाई छ ।-
प्रतिक्रिया राख्नुहोस्